site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उपराष्ट्रपति यादव र सुआनबीच वार्ता : एयर कनेक्टिभिटी र पर्यटन प्रवर्द्धन गर्ने सहमति
तस्बिर : रासस ।

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र उनका भियतनामी समकक्षी भो थी आन्ह सुआनबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ ।

आइतबार (भदौ ८) बिहान काठमाडौंको होटेल याक एन्ड यतीमा भएको भेटवार्तामा व्यापार, लगानी, जलविद्युत्, पर्यटन र सांस्कृतिक सहकार्यका विषयमा छलफल गरिएको बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

वार्तामा नेपाल–भियतनाम सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीले बताए । दुवै पक्षबाट मित्रता, सद्भावना र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरिएको उनले जानकारी दिए ।

भेटवार्तामा उच्च तहमा भ्रमण आदानप्रदान, सांस्कृतिक र धार्मिक सहकार्य, पर्यटन प्रवर्द्धनका निम्ति एयर कनेक्टिभिटी, व्यापार, लगानी र डिजिटल रूपान्तरणका क्षेत्रमा सहयोग बढाउने विषयमा छलफल गरिएको अधिकारीले बताए ।

भियतनामको तीव्र आर्थिक वृद्धि नेपालका निम्ति सिकाइको अवसर भएको उनले उल्लेख गरे । दुवै देशले जलवायु परिवर्तन र वातावरणीय चुनौतीको सामनाका निम्ति सहकार्य गर्ने सहमति पनि भएको उनले जानकारी दिए ।

उपराष्ट्रपति यादवको निमन्त्रणामा शनिबार (भदौ ७) काठमाडौं आइपुगेकी सुआनको यो भ्रमण नेपाल र भियतनाम कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा भएको हो । भियतनामबाट नेपालको यो पहिलो उच्चस्तरीय भ्रमण समेत हो ।

द्विपक्षीय वार्ताबारे सहसचिव प्रकाश अधिकारीको भनाइ पढ्नोस्–
दुवै पक्षले नेपाल–भियतनामको सम्बन्ध, मित्रता र सद्भावनामा आधारित रहेको कुरा व्यक्त गर्नुभयो । यो द्विपक्षीय सम्बन्धको ५०औँ वर्षगाँठको अवसरलाई दुई देशबीचको सम्बन्धलाई अझै अगाडि लैजाने उपयुक्त मौका भएको कुरा पनि व्यक्त गर्नुभयो । उक्त भेटघाटमा भएका मुख्य कुराहरूमा दुई देशमा उच्च तहमा भ्रमण आदानप्रदान गर्ने सहमति भएको छ । त्यस्तै, दुवै देशबीच सांस्कृतिक, धार्मिक समानता र बुद्ध धर्म दुवै देशको सम्बन्धको सेतुको रूपमा रहेकोले धार्मिक, सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नको लागि प्रचुर सम्भावना रहेको कुराबारे पनि छलफल भएको छ । दुई देशबीच पयर्टन प्रवर्द्धन गर्नको लागि निकट भविष्यमा एयर कनेक्टिभिटी बढाउनको लागि आपसी छलफल गर्ने कुराकानी समेत भएको छ । सोही सन्दर्भमा भियतनाम संसारको सबैभन्दा उच्च आर्थिक वृद्धिसहित अगाडि बढेको भएको हुनाले त्यसबाट नेपालले धेरै कुराहरू सिक्न सक्ने सम्भावना रहेका कुराहरू बारेमा पनि छलफल भएको छ । नेपालमा भियतनामको लगानी प्रवर्द्धन गर्ने र व्यापार, लगानी, डिजिटल ट्रान्सफर्मेसनमा पनि द्विपक्षीय कुराकानी भयो । जनस्तरको सम्बन्धलाई पनि अगाडि बढाउने र दुवै देशले अन्तर्राष्ट्रिय कूटनीतिका साझा धारणालाई अझै मजबुत बनाउने सहमति भएको छ । त्यसैगरी, नेपालमा वातावरणीय समस्याले ल्याएको जुन जलवायु परिवर्तनको समस्या छ, त्यसको कारणले नेपालले भोग्दै आएको समस्याबारे पनि विस्तृत कुराकानी भयो । यी सबै क्षेत्रमा दुवै मुलुकले सकार्य गरेर अगाडि बढ्ने कुराकानी भयो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १३:१५
प्रतिक्रिया दिनुहोस्