काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनालाई लिएर भावनात्मक र तथ्यविहीन विरोध भइरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा पाण्डेले एमसीसी कार्यान्वयनमार्फत नेपालमा अमेरिकी सैनिक अड्डा स्थापना हुने आशंका निराधार भएको टिप्पणी गरे ।
"म के कुरामा सहमत छैन भने एमसीसी परियोजना नेपालमा कार्यान्वयन हुँदा एमसीए अफिस यहाँ बस्दाखेरी अमेरिकी सैनिक अड्डा नेपालमा बस्छ । म त यसको कुनै तात्विक अर्थ नै देख्दिनँ । अहिलेसम्म बसिसके र नेपाल कोलोनाइज भइसकेको हुनपर्ने । खोइ त कहाँ छ स्टेसन ?," उनले भने ।
पाण्डेले छिमेकी मुलुकको विदेशी कूटनीतिबारे स्पष्ट नहुँदा नेपालले सधैँ घाटा बेहोरिरहेको पनि बताए । नेपालले राष्ट्रहितको आधारमा कुनै देशको सहयोग लिने र कुनै देशको सहयोग नलिने भन्न नहुने उनको भनाइ छ । नेपालको विकास र समृद्धिका लागि एमसीसी र बीआरआई दुवै अपरिहार्य रहेको उनको टिप्पणी छ ।
"के हामीले जोगाएर चीन जोगिने हो ? चीन आफ्नै सामर्थ्यमा जोगिन सकेन भने हामीले जोगाएर चीन जोगिने हो र ? अमेरिकालाई के नेपालबाट मात्रै चीनमा जानसक्ने परिस्थिति छ र ? त्यसकारण हामीले हाम्रा विश्लेषणमा आफ्ना रियलिस्टिक र आफ्नो देशलाई कसरी हित हुन्छ भन्ने कुरा हेर्नुपर्छ," उनले भने ।
न्युज एजेन्सी नेपालबाट ।