site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समयमै आवधिक निर्वाचन हुने कुरालाई कसैले दायाँबायाँ गर्न सक्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँबायाँ गर्न नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दक्षिण एसियाका धेरै देशहरूमा आवधिक निर्वाचन समयमै नहुने बताए ।

समयमै आवधिक निर्वाचन हुने कुरालाई नेपालमा कसैले हल्लाउन नसक्ने उनको भनाइ छ । निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सरकारले ल्याउँदा निर्वाचन आयोगले पेस गरेका कुराहरू पनि हटाएर ल्याउनसक्ने भन्दै सबै चनाखो हुनुपर्ने स्पष्ट पारे । आवश्यकताका आधारमा विधेयकमा थपघट गरेर जान सकिने बताए ।

"दक्षिण एसियाका थुप्रै देशहरूमा समयमा आवधिक निर्वाचन हुँदैन । हाम्रोमा हुन्छ । यो आवधिक निर्वाचन हुने कुरालाई कसैले पनि हल्लाउन सक्दैन । आवधिक निर्वाचन हुन्छ भनेर भनेको ठाउँमा पनि नाममात्रैको निर्वाचन हुन्छ । हाम्रोमा राम्रै निर्वाचन हुन्छ । हाम्रो इलेक्सन फेयर हुन्छ, फ्रि हुन्छ । सरकारको तर्फबाट विधेयकको रूपमा आउँदा अहिले आएका कतिपय कुराहरू हटेर आउनसक्छ । यसमा ख्याल गर्नुपर्छ । संसदबाट फेरि थपेर पठाउन हामी सक्छौँ । आवश्यकताका आधारमा हामीले विधेयकमा राम्रै काम गरेका छौँ," उनले भने । 

उनले जुन ठाउँमा निर्वाचन हुने त्यहीँका पार्टी सदस्यले उमेदवार छान्न पाउने कुरा राम्रो भएको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्