काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिको निर्वाचन तालिका प्रकाशित गर्न सकस देखिएको छ ।
सत्तारूढ नेपाली कांग्रेसको अन्योलले तालिका प्रकाशन प्रभावित बनेको हो । गत साउन २७ गते सभापतिबाट रामहरि खतिवडाले राजीनामा दिएका थिए । खतिवडा कांग्रेस सांसद हुन् ।
निजामती विधेयकमा ‘कुलिङ अफ पिरिड’को व्यवस्था खण्डित हुनुमा सभापति ‘नैतिक जिम्मेवार’ रहेको छानबिन समितिको प्रतिवेदन आएसँगै उनले राजीनामा दिएका हुन् ।
प्रतिनिधिसभा नियमावलीमा रिक्त सभापति पदको निर्वाचन १५ दिनमा गर्नुपर्ने व्यवस्था छ । नियमावलीको धारा १७७ (५) मा भनिएको छ, “उपनियम (२) बमोजिम समितिको सभापतिको पद रिक्त हुन आएमा रिक्त भएको मितिले १५ दिनभित्र निर्वाचन गरिसक्नु पर्नेछ ।”
यही साउन ११ गते सभापति खाली भएको १५ दिन पुग्छ । सभामुख देवराज घिमिरेले भदौ ६ गतेको प्रतिनिधिसभा बैठकमा निर्वाचन तालिका सुनाउन खोजेका थिए । त्यसको तयारी पनि भएको थियो ।
“प्रतिनिधिसभा बैठकमा उहाँले तालिका सुनाउने गरी तयारी भएको थियो । तर, कांग्रेसले पर्खन आग्रह गरेपछि उक्त दिन तालिका सुनाउन रोकिएको हो,” स्रोतले भन्यो ।
त्यसपछि सभामुखले आज (भदौ ८) कार्यतालिका प्रकाशित गर्ने तयारी गरेका थिए । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आइतबार पटक–पटक सभामुखलाई भेटे ।
त्यस्तै, कांग्रेस सांसद दिलेन्द्र बडू पनि सभामुख भेट्न पुगेका थिए । स्रोतका अनुसार, घिमिरेले आइतबार चुनावी तालिका प्रकाशित नगर्न आग्रह गरेका हुन् ।
“पार्टीमा सभापति को बन्ने भन्ने टुंगिएको छैन । आन्तरिक तयारी नपुगेकाले आज सूचना नटाँस्न प्रमुख सचेतकले सभामुखलाई आग्रह गर्नुभएको छ,” कांग्रेसका एक पदाधिकारीले भने ।
सभामुख घिमिरेले राजीनामा आएकै दिन दलका प्रमुख सचेतकसँग सभापतिको चुनावी प्रक्रिया सम्झाएका थिए ।
त्यसपछिका बैठकमा पनि टुंगोमा पुग्न ताकेता गरे । तर, आइतबारसम्म पनि कांग्रेसले निचोड नदिएपछि सोमबार मात्रै तालिका प्रकाशित गर्ने सम्भावना छ ।
कांग्रेसमा अन्योलता
सभापतिको उमेदवार टुंग्याउन कांग्रेसलाई सकस परेको छ । खतिवडाले सभापति पदबाट राजीनामा दिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले किन राजीनामा दिएको भन्दै सोधेका थिए ।
कांग्रेसका सांसदहरू रहेको छलफलमा सांसद सरिता प्रसाईंले सभापतिबारे चासो राखेकी थिइन् । देउवाले भनेका थिए, ‘‘रामहरिलाई नै फेरि बनाउँदा हुँदैन ?’’
स्रोतका अनुसार, देउवा अझै पनि खतिवडाले सभापति पद छाडेकामा सन्तुष्ट छैनन् । खतिवडाले राष्ट्रियसभाबाट पारित भएको भए सोच्न सकिने तर विधेयक अघि नबढेकाले आफू सभापति नबन्ने सन्देश देउवालाई दिएका छन् ।
राज्यव्यवस्था समितिमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सांसदहरू ईश्वरी न्यौपाने, रामहरि खतिवडा, दिलेन्द्र बडू, सरिता प्रसाईं, हृदयराम थानी र अम्बिका बस्नेत सदस्य छन् ।
सभापतिको कार्यतालिका सोमबार प्रकाशित भएमा समितिभित्रका सदस्यबाट सभापति चयन हुनेछ । कांग्रेसले अरु सांसदलाई समितिमा भित्र्याउन पाउने छैन । किनकि समिति हेरफेर प्रतिनिधिसभाले मात्रै गर्न सक्नेछ । प्रतिनिधिसभाको बैठक आगामी भदौ १३ गतेका लागि बोलाइएको छ ।