काठमाडौं । गाजामा इजरायल र हमासबीच चलिरहेको युद्धलाई लिएर देशभित्र तीव्र विरोध प्रदर्शन भइरहेका छन् । देशभर र्यालीहरू निकालिएका छन्, जहाँ हजारौँ मानिसहरूले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई हमाससँग बन्धकहरूको रिहाइका लागि सम्झौता गर्न माग गरिरहेका छन् ।
यस्तै, एक र्याली शनिबार तेल अभिभको ‘होस्टेज स्क्वायर’मा भएको थियो, जहाँ गाजामा तत्काल युद्धविराम र बन्धकहरूको घर फिर्तीका लागि सरकारसँग सम्झौता गर्न माग गरियो ।
टाइम्स अफ इजरायलको रिपोर्टअनुसार, राजधानीलगायत अन्य स्थानमा पनि मानिसहरू भेला भएर यहूदी–अरब युद्धविरोधी प्रदर्शन गरे ।
गाजामा बन्धक बनेका आफ्ना दुई भाइ गली र जिवको फिर्तीको प्रतीक्षा गरिरहेका लिरान बर्मनले भने, “शान्तिका लागि सम्झौतामा वार्ता चलिरहेको छ, तर यस्ता सम्झौताहरू हामीले विगत धेरै महिनादेखि देखिरहेका छौँ । यस्ता सम्झौता धेरै टिक्दैनन् । उनीहरूले तीव्र गतिमा वार्ताको ढोका चाँडै बन्द गर्छन् । सायद यो गाजामा फसेका बन्धकहरूलाई बचाउने अन्तिम अवसर हो । प्रधानमन्त्री नेतन्याहूले वार्ता र सम्झौताको कुरा त गर्छन्, तर उनको व्यवहारले बन्धकहरूलाई बलि चढाउन चाहेको जस्तो देखिन्छ ।”
उल्लेखनीय के छ भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार सबै ५० बन्धकहरूको फिर्तीका लागि वार्ताको निर्देशन दिइसकेका बताएका थिए । तर, यहीबीचमा उनले गाजामाथि नयाँ आक्रमण पनि सुरु गरेका छन् । नेतन्याहूको यो रवैयालाई लिएर प्रदर्शनकारीहरूले उनी कुनै पनि सम्झौताप्रति गम्भीर नभएको र बन्धकहरूलाई बलि चढाइरहेको ठानेका छन् ।
गाजामा चलिरहेको द्वन्द्वलाई लिएर गत साता हमासले एक वक्तव्य जारी गरेको थियो । हमासले शान्तिका लागि प्रस्तावित सम्झौतामा सहमति जनाएको बताएको थियो, जसअनुसार गाजामा ६० दिनको युद्धविरामका दौरान १० जीवित बन्धक र १८ मृत बन्धकहरूको शव रिहा गरिनेछ ।
साथै, इजरायली जेलमा रहेका सयौँ प्यालेस्टिनीलाई पनि रिहा गरिनेछ । युद्धविरामका दौरान इजरायल र हमासले मध्यस्थहरूसँग मिलेर बाँकी बन्धकहरूको रिहाइ र युद्ध अन्त्यका लागि वार्ता गर्नेछन् ।
गाजा कब्जा गरेर छाड्ने नेतन्याहूको कडा अडान
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले बन्धक रिहाइको सर्तसहित युद्धविराम सम्झौतामा सहमति जनाए पनि इजरायली सेनाले सम्पूर्ण गाजापट्टी कब्जा गर्ने स्पष्ट रूपमा बताएका छन् ।
यो टिप्पणी यस्तो समयमा आएको छ, जब गाजा कब्जा गर्न इजरायली सुरक्षा बलहरू अगाडि बढिरहेका छन् । यस कदमको अन्तर्राष्ट्रिय समुदायमा तीव्र आलोचना भइरहेको छ ।
स्काई न्युज अस्ट्रेलियासँग कुरा गर्दै नेतन्याहूले जोड दिएर भने, “हामीले हमासलाई सखाप पार्ने लक्ष्यमा कुनै परिवर्तन गरेका छैनौँ । हामीले हमासलाई त्यहाँ छोड्ने कुरा कहिल्यै सोचेका छैनौँ । हामी हर हालतमा गाजा कब्जा गर्नेछौँ ।”
नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनको पनि उल्लेख गरे जसमा ट्रम्पले यस महिनाको सुरुमा हमास गाजामा रहन नसक्ने बताएका थिए । नेतन्याहूले भने, “डोनाल्ड ट्रम्पले ठीक भन्नुभएको छ, हमासलाई गाजाबाट हटाउनैपर्छ । यो जर्मनीमा एसएस (शुट्जÞस्टाफÞेल) लाई छोडेजस्तै हो । जर्मनीका अधिकांश भाग एसएसबाट मुक्त गरिएको थियो, तर बर्लिनलाई एसएस र नाजीहरूसहित छोडिएको थियो ।”
सन् १९२५ मा हिटलरले शुट्जÞस्टाफÞेल (एसएस)को स्थापना गरेका थिए, जुन सुरुमा हिटलरको निजी अंगरक्षकको रूपमा बनाइएको थियो, तर पछि यसले ठूलो रूप लिएर नाजीहरूलाई नियन्त्रण गरेको थियो ।
नेतन्याहूले यदि हमासले बाँकी बन्धकहरू रिहा गर्ने, निरस्त्रीकरण गर्ने र गाजाको विसैन्यीकरणमा सहमति जनायो भने युद्ध आजै समाप्त हुन सक्ने तर्क गरे । उनले अन्तर्राष्ट्रिय आलोचनालाई यहूदी–विरोधी सुनामी भन्दै खारेज गरे ।
तत्काल वार्ता सुरु गर्न नेतन्याहूको निर्देशन
यसअघि बिहीबार नेतन्याहूले आफ्ना अधिकारीहरूलाई बन्धक रिहाइ र आफ्ना सर्तमा युद्ध अन्त्य गर्न तत्काल वार्ता सुरु गर्न निर्देशन दिएका थिएका थिए । यो युद्धविराम प्रस्तावमा इजरायलको पहिलो आधिकारिक वक्तव्य थियो । रणनीतिक क्षेत्रमा सेना तैनाथ भइसकेकाले गाजा सहरमा ठूलो अभियान चाँडै सुरु हुन सक्छ । गाजा सहर हमासको सैन्य र सरकारी प्रभाव भएको क्षेत्र हो । यहाँका ठूला सुरुङहरूमा हमासको अखडा छ र हजारौँ मानिसहरूले यहाँ शरण लिएका छन् भन्ने इजरायलको विश्वास छ ।
यदि इजरायलले यो स्वीकार गरेमा आक्रमण टार्न सकिन्छ भन्दै यो साताको सुरुमा हमासले अरब मध्यस्थहरूको युद्धविराम प्रस्तावमा सहमति जनाएको बताएको थियो ।
यस्ता घोषणाहरू पहिले पनि भएका छन्, तर युद्धविराम भएको छैन । यो प्रस्तावमा बन्धक र कैदीहरूको साटासाट र इजरायली सेनाको फिर्ती समावेश छ, जबकि दीर्घकालीन युद्धविरामबारे वार्ता जारी छ ।
संयुक्त राष्ट्र महासचिवको आह्वान– तत्काल युद्धविराम
इजरायली रक्षा बल (आईडीएफ)ले गाजा सहर, जसलाई हमासको गढ मानिन्छ, कब्जा गर्न रणनीतिक रूपमा बुधबार युद्धको अर्को चरण सुरु गरेको छ । इजरायली सेना गाजापट्टीभित्र प्रवेश गरेको छ । यता, संयुक्त राष्ट्र महासचिवले नेतन्याहूलाई तत्काल सेना फिर्ता बोलाएर युद्धविराम गर्न आह्वान गरेका छन् ।
उनले आईडीएफको आक्रमणले गाजापट्टीमा भोकमरीबाट पीडित मानिसहरूको ठूलो विनाश हुने चेतावनी दिएका छन् । सन् २०२३ अक्टोबरदेखि हालसम्म गाजामा प्यालेस्टिनीहरूको मृत्युको आधिकारिक आँकडा ६२ हजार नाघिसकेको छ ।
टर्कीले इजरायलसँग सम्बन्ध नभएको पत्र माग्न सुरु
इजरायलको गाजा अभियानको विरोधमा टर्कीले आफ्ना बन्दरगाहमा आउने जहाजहरूबाट पत्र माग्न सुरु गरेको छ । जहाजहरूले इजरायलसँग सम्बन्ध नभएको वा इजरायलका लागि कुनै हतियार नबोकेको प्रमाणित गर्नुपर्नेछ । युरोप र एसियामा फैलिएको टर्कीले इजरायलविरुद्ध नयाँ मोर्चा खोलेको छ ।
अरब न्युजका अनुसार, दुई सिपिङ स्रोतले यो निर्णयमा कुनै आधिकारिक आदेश जारी नभएको, तर बन्दरगाह प्रमुखले मौखिक रूपमा एजेन्टहरूलाई यस्तो लिखित आश्वासन माग्ने निर्देशन दिएको बताए । यो नियम टर्कीका सबै बन्दरगाहमा लागु छ ।
जानकारीअनुसार, जहाजहरूले ग्यारेन्टी पत्रमा जहाजको मालिक, व्यवस्थापक वा सञ्चालक इजरायलसँग सम्बन्धित नभएको र जहाजमा विस्फोटक, रेडियोधर्मी सामग्री वा सैन्य उपकरण नबोकेको उल्लेख गर्नुपर्छ ।
टर्कीका परिवहन मन्त्रीले यो निर्णयबारे हालसम्म कुनै वक्तव्य दिएका छैनन् । गत दुई वर्षदेखि टर्कीले इजरायलको अभियानको विरोधमा तेल अभिभसँग व्यापार बन्द गरेको छ र स्वतन्त्र प्यालेस्टाइनको समर्थक रहँदै इजरायलको निरन्तर विरोध गर्दै आएको छ । हालै गाजामा सुरु भएको नयाँ अभियानको पनि टर्कीले विरोध जनाएको छ ।
रक्षामन्त्रीको चेतावनी : गाजालाई राफाजस्तै ध्वस्त पार्छौं
इजरायलका रक्षामन्त्री काट्जले शुक्रबार गाजाका लागि ठूलो चेतावनी दिएका थिए । उनले भने, “यदि हमासले इजरायलको सर्त मानेन भने गाजा ध्वस्त हुनेछ ।”
उनले गाजाको हाल राफा र बेइट हनौनजस्तै हुने बताए, जो युद्धले भग्नावशेषमा परिणत भएका छन् । यो चेतावनी यस्तो समयमा आएको छ, जब विश्वको अग्रणी खाद्य संकट संस्थाले गाजा युद्ध र नाकाबन्दीले अकालको चपेटामा परेको बताएको छ । एक दिनअघि नेतन्याहूले गाजा कब्जा गर्न ठूलो सैन्य अभियानको अनुमति दिएका थिए ।
रक्षामन्त्री काट्जले एक्समा लेखे, “गाजामा हमासका हत्यारा र बलात्कारीहरूका लागि चाँडै नर्कको ढोका खुल्नेछ । यदि उनीहरूले इजरायलको शर्तमा युद्ध अन्त्य गर्न सहमति जनाएनन् भने खराब अवस्था आउनेछ ।” उनले सबै बन्धकहरूको रिहाइ र हमासको पूर्ण निरस्त्रीकरणसहितको युद्धविरामको माग दोहोर्याए । हमासले युद्ध अन्त्य गर्न बन्धक रिहा गर्ने बताएको छ, तर प्यालेस्टाइनलाई मान्यता नदिई निरस्त्रीकरणमा सहमत छैन । एजेन्सीको सहयोगमा