काठमाडौं । पाकिस्तानका विदेशमन्त्री इसहाक डार हाल बंगलादेशको भ्रमणमा छन् । सन् २०१२ पछि बंगलादेशमा पहिलोपटक पाकिस्तानी विदेशमन्त्रीको औपचारिक भ्रमण भएको हो ।
२०१२ मा पाकिस्तानका विदेशमन्त्री हीना रब्बानी खार बंगलादेशको भ्रमण गरेकी थिइन् । शनिबार दुईदिने भ्रमणका निम्ति ढाका पुगेका डारको उद्देश्य लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनाको सत्ता अपदस्थपछि बंगलादेशसँग सम्बन्ध सुदृढ गर्नु हो ।
डार र युनुसको भेट, सार्कलाई सक्रिय बनाउनुपर्नेमा जोड
भ्रमणका क्रममा डारले बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुससँग भेट गरे । दुवै नेताले बंगलादेश–पाकिस्तान सम्बन्ध सुदृढ र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई पुनर्जीवित गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
युनुसले के भने ?
डारसँगको भेटमा युनुसले सार्कलाई प्रवद्र्धन गर्ने पक्षमा आफू रहेको बताए । पाकिस्तानसहित अरू सार्क राष्ट्रहरूसँगको सम्बन्धलाई प्राथमिकता दिने उनले उल्लेख गरे ।
उनले सन् १९७१ को युद्धसँग जोडिएका संवेदनशील मुद्दा रहेको स्वीकार गर्दै सांस्कृतिक आदानप्रदानजस्ता क्षेत्रमा सहयोग बढाउनुपर्ने बताए ।
उनले भने, “पाकिस्तानी गायकहरू बंगलादेशमा प्रस्तुति दिँदा जनताले प्रशंसा गर्छन् । यही भावनालाई अघि बढाउनुपर्छ ।”
डारको भनाइ
डारले युनुससँगको भेटमा पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफका तर्फबाट शुभकामना दिए । उनले पाकिस्तानले बंगलादेशसँग पुरानो सम्बन्धलाई पुनर्जीवित गर्न चाहेको र दुवै देशका अर्थतन्त्र एकार्काका पूरक भएको बताए ।
उनले भने, “हामी धेरै क्षेत्रमा सँगै काम गर्न सक्छौँ ।”
१९७१ को नरसंहारका निम्ति माफी माग्न बंगलादेशको माग
डारले अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार एम तौहीद हुसैनसँग पनि भेट गरे । एक दशकपछि बंगलादेश पुगेका डारसामु ढाकाले सन् १९७१ को नरसंहारको मुद्दा उठाउँदै पाकिस्तानले माफी माग्नुपर्ने माग गरेको छ ।
हुसैनले पत्रकारसँग भने, “हामीले १९७१ को मुक्ति संग्रामको नरसंहारका निम्ति माफी माग्ने र सम्पत्ति दाबीजस्ता नसुल्झिएका मुद्दा उठाएका छौँ । तर, ५४ वर्ष पुराना समस्या एकैदिनमा समाधान हुने अपेक्षा गर्नु गलत हुन्छ ।”
उनले दुवै देशले यी मुद्दामा आ–आफ्नो अडान प्रस्तुत गरेको बताए । ऐतिहासिक मुद्दालाई वार्तामार्फत समाधान गरी द्विपक्षीय सम्बन्ध अघि बढाउने सहमति भएको उनले जानकारी दिए ।
यता, डारले भने, “१९७१ सँग जोडिएका लामो समयदेखिका मुद्दा दुईपटक समाधान भइसकेका छन् । पहिलोपटक सन् १९७४ मा र दोस्रोपटक सन् २००० मा तत्कालीन राष्ट्रपति परवेज मुशर्रफको बंगलादेश भ्रमणमा ।”
बंगलादेशका विदेश मामिला सल्लाहकारले दुवै देशबीच एक सम्झौता र पाँच सहमतिपत्र (एमओयू)मा हस्ताक्षर भएको बताए ।
दुवै देशले ऐतिहासिक मुद्दाको समाधान वार्तामार्फत गरी द्विपक्षीय सम्बन्धलाई अघि बढाउने सहमति जनाएको उनले उल्लेख गरे ।
डारले विद्यार्थी आन्दोलनको नेसनल सिटिजन्स पार्टी (एनसीपी)का नेताहरूसँग पनि भेट गरे । उक्त आन्दोलनबाट शेख हसिना सरकारको पतन भएको थियो ।
बंगलादेशले पहिल्यै मागेको थियो माफी
यो पहिलोपटक होइन, बंगलादेशले सन् १९७१ को नसुल्झिएको मुद्दा उठाएको । यसै वर्ष अप्रिलमा १५ वर्षपछि भएको विदेश सचिवस्तरीय वार्तामा बंगलादेशले पाकिस्तानसँग ऐतिहासिक मुद्दा समाधान गर्न र १९७१ को नरसंहारका निम्ति औपचारिक माफी माग्न आग्रह गरेको थियो । स्वतन्त्रतापूर्वको सम्पत्ति बाँडफाँटको मुद्दा सुल्झाउन पनि अनुरोध गरेको थियो ।
डारले बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया, जमात–ए–इस्लामीका नेतासँग पनि भेट गरेका थिए । उनले बंगलादेश सरकारका ऊर्जा र वाणिज्य सल्लाहकारहरूसँग पनि छलफल गरे ।
भेटका मुख्य बुँदा
बंगलादेश र पाकिस्तानबीचको छलफलमा व्यापार, शिक्षा, युवा कार्यक्रम र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्ने विषयमा जोड दिइयो । दुवै देशले क्षेत्रीय सहयोग बलियो बनाउन सार्कलाई पुनर्जीवित गर्नुपर्ने सहमति जनाएका छन् ।
सिपिङ र हवाई यात्रामार्फत कनेक्टिभिटी सुधार्ने विषयमा पनि छलफल गरियो । अक्टोबरदेखि फ्लाई जिन्नाहको सिधा उडान सुरु हुने अपेक्षा गरिएको छ । पीआईएको उडान पनि छिट्टै सुरु हुने सम्भावना बढेको जनाइएको छ । एजेन्सीहरू