site stats
बाह्रखरी :: Baahrakhari
विदेश
नेतान्याहु भन्छन्– हिजबुल्लाहलाई निःशस्त्र बनाइए इजरायल लेबनानबाट फर्किन सक्छ

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सन् २०२५ को अन्त्यसम्म हिजबुल्लाहलाई निःशस्त्र बनाउने दिशामा काम गर्ने लेबनानी मन्त्रिपरिषद्को निर्णयको स्वागत गरेका छन् । उनले हिजबुल्लाहलाई निःशस्त्र बनाइए इजरायल लेबनानबाट फर्किन सक्ने बताएका छन् ।

लेबनानले हिजबुल्लाहलाई निःशस्त्र बनाउन आवश्यक कदम चालेमा इजरायलले पारस्परिक उपाय लिने उनको भनाइ छ । उनले दक्षिणी लेबनानमा इजरायली सैन्य उपस्थितिको चरणबद्ध कटौती समावेश हुने पनि बताएका छन्  ।

अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामपछि इजरायल–हिजबुल्लाह युद्ध नोभेम्बरमा समाप्त भएदेखि हिजबुल्लाहका अधिकारीहरूले इजरायलले लेबनानभित्र नियन्त्रण गरेका पाँच पहाडबाट फर्किने र लगभग दैनिक हवाई हमलाहरू रोक्नेबेलामात्र आफ्नो निःशस्त्रीकरणबारे छलफल गर्ने बताएका छन् । 

यी हमलामा सयौँ व्यक्ति मारिएका वा घाइते भएका छन् । जसमा अधिकांश हिजबुल्लाहका सदस्य छन् ।

बेइरुतलाई १४ महिनाको इजरायलसँगको युद्धपछि कमजोर बनाएको र धेरै राजनीतिक तथा सैन्य नेताहरू मारिएका कारण उक्त समूहलाई निःशस्त्र बनाउन अमेरिकाको दबाब छ ।

तर, हिजबुल्लाहको नेतृत्वले निःशस्त्र नहुने बताएको छ । सरकारले वर्षको अन्त्यसम्म इरान समर्थित उक्त समूहको हतियार हटाउने निर्णय इजरायलको हितमा गरिएको हिजबुल्लाहको भनाइ छ ।

इजरायलले हिजबुल्लाहलाई सैन्य क्षमता पुनर्निर्माणको प्रयास गरेको आरोप लगाएको छ । उसको सेनाले लेबनानका पाँच स्थानमा रहेर हरूले इजरायलको उत्तरी क्षेत्रका समुदायको सुरक्षा प्रदान गर्ने बताएको छ । युद्धका क्रममा करिब ६० हजार इजरायलीहरू विस्थापित भएका थिए ।

युद्ध समाप्त भएदेखि हिजबुल्लाहले आफ्ना अधिकांश लडाकु र हतियारहरूलाई इजरायल सीमासँग जोडिएको लिटानी नदीको दक्षिण क्षेत्रबाट हटाएको छ । 

युद्धविराम सम्झौताले लिटानी नदीको उत्तरमा हिजबुल्लाहको हतियार र सैन्य संरचनालाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे स्पष्ट उल्लेख गरेको छैन । तर, लेबनानी अधिकारीहरूले अनधिकृत संरचनाहरू हटाउन दक्षिण क्षेत्रबाट सुरु गर्नुपर्ने बताएका छन् ।

इजरायल–हिजबुल्लाह युद्ध गाजाबाट हमासको नेतृत्वमा सन् २०२३ अक्टोबर ७ मा इजरायलविरुद्ध भएको आक्रमणको भोलिपल्ट सुरु भएको थियो । यस युद्धमा चार हजारभन्दा बढी व्यक्तिको ज्यान गएको थियो र ११ अर्ब डलर बराबरको क्षति पुगेको थियो ।

एपीबाट ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १७:०९
प्रतिक्रिया दिनुहोस्