काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशसभाअन्तर्गत मनाङ १ (ख)को उपनिर्वाचन मिति तोक्ने तयारी गरेको छ । प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त गर्ने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि उपनिर्वाचनको मिति तोक्ने तयारी गरिएको हो ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्तिक १७ गते नै उपनिर्वाचन गर्ने गरी मिति तोकिने बताए । “अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भइसकेको छ । अब त्यहाँ कार्तिक १७ गते नै उपनिर्वाचन हुनेछ । आयोगले निर्णय गर्न भने बाँकी छ,” उनले बाह्रखरीसँग भने ।
प्रतिनिधिसभाअन्तर्गत रुपन्देही क्षेत्र नम्बर–३ को रिक्त पदमा कार्तिक १७ गते उपनिर्वाचन हुँदै छ । त्यसका लागि आयोगले दल दर्तासमेत गरिसकेको छ ।
प्रदेशसभाको हकमा भने निर्वाचन तालिका छोट्याउने र सोही दिन निर्णय गर्ने तयारी रहेको भण्डारीले बताए । “कार्यतालिका केही छोट्याउँदा उपनिर्वाचन गर्न भ्याइहालिन्छ,” उनी भन्छन् ।
गएको असार ४ गते सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडालको संवैधानिक इजलासले मनाङेको पदमुक्त हुने फैसला सुनाएको थियो । ज्यान मार्ने उद्योगमा मुद्दा फैसला भएपश्चात् गुरुङ प्रदेशसभा सदस्य पदका लागि अयोग्य ठहर पूर्णपाठमा गरिएको छ ।