site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपति पौडेलले भानु साहित्य उद्यानको शुभारम्भ गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घामा भानु साहित्य उद्यान निर्माणको शुभारम्भ गर्ने भएका छन् । 

आदिकवि भानुभक्त आचार्यको स्मृति दिवसका अवसरमा आगामी असोज ६ गते उद्यान निर्माणअन्तर्गत प्रथम चरणमा बनाउन लागिएको भानु भवनको शिलान्यास गरेर राष्ट्रपति पौडेलले सो उद्यान निर्माणको शुभारम्भ गर्ने भानु साहित्य उद्यान समितिका महासचिव डा. ब्रतराज आचार्यले बताए ।

उनका अनुसार, राष्ट्रपति पौडेलको समुपस्थितिमा सोमबार सहरी विकास मन्त्रालय र उद्यान समितिका पदाधिकारीको छलफलपछि भानु स्मृति दिवसका अवसरमा उद्यान निर्माणको शुभारम्भ गर्ने तय भएको हो । 

राष्ट्रपति पौडेलको परिकल्पना र पहलमा चुँदी रम्घालाई नेपाली भाषा, साहित्य र संस्कृतिको तीर्थस्थलका रूपमा विकास गर्ने लक्ष्यसहित भानु साहित्य उद्यान गुरुयोजना निर्माण हुँदै छ । सो उद्यानमा सातै प्रदेशका प्रसिद्ध धाम झल्कने संरचना र विभिन्न भाषाभाषीका मूर्धन्य साहित्यकारहरूको शालिक राख्ने योजना छ । सरकारले सो उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा २० करोड रुपैयाँ विनियोजन गरेको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १७:३४
प्रतिक्रिया दिनुहोस्