काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले मुलुकलाई विभाजित गर्ने काम गरेको गरेको टिप्पणी गरेका छन् ।
काष्ठमण्डप संवाद समापन समारोहलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उनले मुलुकभित्र राष्ट्रिय सहमति सुनिश्चित नगरीकन गरिएको एमसीसी सम्झौताले मुलुकलाई विभाजित गरेको टिप्पणी गरेका हुन् । "कुनै पनि अन्तर्राष्ट्रिय सन्धि सम्झौता गर्दा संसद्लाई पूर्वजानकारी दिनुपर्ने व्यवस्था संविधानमा नै उल्लेख गर्नुपर्छ," उनले भने ।
उनले अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताहरू सत्ताधारीहरूको लक्ष्य र चलखेलको विषय बन्न दिन नहुनेमा जोड दिए । उनले एमसीसी सहयोग परियोजना संघीय संसद्बाट लज्जाजनक विषयले पास गरिएको उल्लेख गर्दै भविष्यमा यस्तो हुन नदिने कुरामा सबै सजग हुनुपर्ने बताए ।
खनालले एमसीसीलाई गृहकार्य, यथोचित छलफल र सहमतिबिना अनुमोदन गरिएको उल्लेख गर्दै यसलाई संस्था वा मुलुकको हकमा पनि लागु गर्न सकिने नजिरको रुपमा लिन नहुनेमा जोड दिए ।