site stats
बाह्रखरी :: Baahrakhari
विदेश
एप्पल र ओपनएआईविरुद्ध एलन मस्कले हाले मुद्दा

काठमाडौं । प्रसिद्ध अमेरिकी व्यवसायी तथा टेस्ला प्रमुख एलन मस्क फेरि एकपटक चर्चामा छन् । यसको कारण भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवाद नभएर एप्पल र ओपनएआईविरुद्धको हालेको मुद्दा हो ।

उनले सोमबार एक अदालतमा एप्पल र ओपनएआईविरुद्ध ६१ पृष्ठको मुद्दा दायर गरेका छन् । यी दुई कम्पनीले मिलेर कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा प्रतिस्पर्धालाई समाप्त पार्ने प्रयास गरिरहेका मस्कको आरोप छ ।

मुद्दामा एआई प्रविधिमा नियन्त्रण कायम गर्न र आफ्नो पकड बलियो बनाउन एप्पल र ओपनएआईले आपसमा मिलेमतो गरेको र उनको ग्रोक च्याटबटलाई उपेक्षा गरेको  आरोपमा दाबी गरिएको छ । 

मस्कले लगाएको आरोप अनुसार एप्पलले आफ्नो सबैभन्दा ठूलो आम्दानीको स्रोत आईफोनका लागि उनको एआई ग्रोक च्याटबटलाई खतरा मानेको छ । यही कारणले एप्पलले ओपनएआईसँग मिलेर च्याटजीपीटीलाई प्रोत्साहन दिइरहेको छ ।

एप्पलले आफ्नो एप स्टोरमा ओपनएआईको च्याटजीपीटीलाई गलत तरिकाले प्राथमिकता दिएको र मस्कको एक्स एआईको ग्रोक च्याटबटलाई दबाउने षड्यन्त्र गरेको पनि आरोप लगाइएको छ । मस्कका कम्पनीहरू एक्सएआई र एक्स कर्पले यस अनुचित व्यवहारका कारण भएको आर्थिक नोक्सानीको क्षतिपूर्ति र अदालतबाट कारबाहीको माग गरेका छन् ।

यसअघि पनि मस्कले एप्पलमाथि आईफोनको एप स्टोरमा च्याटजीपीटीलाई राम्रो र्याकिङ दिएको र आफ्नो एआई च्याटबट ग्रोकमाथि भेदभाव गरेको आरोप लगाएका थिए ।

अर्कोतर्फ, मुद्दामा ओपनएआईमाथि आफ्नो सुरुआती सार्वजनिक कल्याणकारी संस्थाको भूमिका छोडेर नाफा कमाउने प्राथमिकतामा केन्द्रित भएको आरोप पनि लगाइएको छ ।
 
यद्यपि, ओपनएआईले मस्कमाथि नै मुद्दा दायर गरेर जवाफ फर्काएको छ । ओपनएआईले मस्कमाथि उत्पीडनको आरोप लगाउँदै यो उनको नियमित व्यवहार भएको दाबी गरेको छ । यो मामिलामा हालसम्म एप्पलले कुनै प्रतिक्रिया दिएको छैन ।

विश्लेषकहरूका अनुसार, ओपनएआईले आफ्ना एप्पलका पूर्वडिजाइनर जोनी इभसँग मिलेर एउटा यस्तो एआई उपकरण बनाइरहेको छ, जसले भविष्यमा आईफोनका लागि चुनौती बन्न सक्छ । 

मस्कले दायर गरेको यो मुद्दाले एप्पल र ओपनएआईमाथि बजारमा एकाधिकार कायम गर्ने र नयाँ प्रविधिहरूको प्रतिस्पर्धा रोक्ने गम्भीर आरोप लगाएको छ । सीबीएस
 

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  ०८:०९
प्रतिक्रिया दिनुहोस्