काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति रानिल विक्रमासिंघेलाई मंगलबार एक अदालतले भ्रष्टाचार मुद्दामा जमानत दिएको छ । गएको शुक्रबार (अगस्ट २२) उनलाई भ्रष्टाचारको आरोपमा प्रहरीको आपराधिक अनुसन्धान विभाग (सीआईडी)को टोलीले पक्राउ गरेको थियो ।
पक्राउलगत्तै विक्रमासिंघेलाई कोलम्बो फोर्ट मजिस्ट्रेट अदालतमा पेस गरिएको थियो । अदालतले उनलाई अगस्ट २६ सम्म हिरासतमा राख्न आदेश दिएको थियो । त्यसपछि उनलाई राजधानी कोलम्बोको म्यागजिन रिमान्ड जेलमा राखिएको थियो ।
पक्राउपछि आईसीयूमा भर्ना
पक्राउ परेपछि विक्रमासिंघेको स्वास्थ्य अवस्था बिग्रिएको थियो । सुरुमा उनलाई जेल अस्पतालमा भर्ना गरिएको थियो । अवस्था गम्भीर भएपछि कोलम्बो राष्ट्रिय अस्पतालको आईसीयूमा सारिएको थियो । उनलाई ‘डिहाइड्रेसन’को समस्या भएको जनाइएको छ ।
भर्चुअल सुनुवाइमा सहभागी
मंगलबार अदालतको सुनुवाइमा विक्रमासिंघेले अस्पतालको आईसीयूबाटै ‘जुम’मार्फत भाग लिए । सुनुवाइ कोलम्बो फोर्ट मजिस्ट्रेट निलुपुली लंकापुराको अध्यक्षतामा भएको थियो ।
के थियो आरोप ?
पूर्वराष्ट्रपति विक्रमासिंघेमाथि सन् २०२३ मा सरकारी कोषको दुरुपयोग गरी लन्डन भ्रमणमा एक करोड ६६ लाख श्रीलंकन रुपी खर्च गरेको आरोप छ । उनले उक्त भ्रमण आफ्नी पत्नीका निम्ति विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन गरेका जनाइएको छ ।
त्यो निजी भ्रमण थियो । तर, सरकारी भ्रमणका नाममा कोषको दुरुपयोग गरिएको आरोप छ ।
विक्रमासिंघेले भने आफूमाथिका सबै आरोप अस्वीकार गर्दै उक्त भ्रमण पूर्ण रूपमा आधिकारिक भएको जिकिर गरेका छन् । उनले श्रीलंकाको राष्ट्रपतिको हैसियतले निमन्त्रणा प्राप्त भएको र त्यो निजी भ्रमण नभएको बताएका छन् ।
राजनीतिक हलचल
कडा सुरक्षा र अदालत परिसरबाहिर विरोध प्रदर्शनबीच विक्रमासिंघेलाई जमानत दिइएको हो । उनी पक्राउले श्रीलंकाको राजनीतिमा ठूलो हलचल ल्याएको छ । विपक्षी दलले यसलाई सत्ताको दुरुपयोग भनेका छन् । विक्रमासिंघे र उनका समर्थकले यसलाई राजनीतिक प्रतिशोध बताएका छन् ।