site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रवि लामिछानेको निवेदन न्यायाधीश सागर विष्टको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको निवेदन न्यायाधीश सागर विष्टको इजलासमा परेको छ । सहकारी ठगी र संगठित अपराधमा धरौटी माग्ने रविको निवेदन बुधबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश विष्टको इजलासमा परेको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा रवि चैत २२ देखि पुर्पक्षका लागि थुनामा छन् ।

सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा रूपन्देही जिल्ला अदालतले गत माघ १३ गते रविलाई एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । उक्त आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका रविलाई चैत २२ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । उक्त आदेश बदर गरी साधारण तारेख माग गर्दै परेको निवेदनमा सर्वोच्चले जेठ ९ गते उच्चको आदेश सदर गर्दै रविलाई थुनामै राख्नुपर्ने आदेश गरेको थियो ।

सर्वोच्चले ९ बुँदामा दिएको आदेशमा रवि दोषी हुने आधार बलिया देखिएकाले थुनामा राख्ने उच्च अदालतको आदेश सदर हुने भनिएको थियो । सर्वोच्चको आदेशपछि उनले जेल सार्न निवेदन दिएका थिए । जेल सार्न गरिएको आग्रह लागु नभएपछि रविले अदालतबाटै आदेश लिएका थिए । त्यसपछि उनले आफ्नो भागको बिगो धरौटी राखेर थुनामुक्त हुने माग गर्दै रूपन्देही जिल्ला अदालतमा पुनः निवेदन दिएका थिए ।

उनको निवेदनमा न्यायाधीश नारायण सापकोटाको इजलासले गत साउन २६ मा सर्वोच्चले व्याख्या गरिसकेको कानुनको दफामा पुनः तल्लो तहबाट व्याख्या हुन नसक्ने भन्दै थुनामुक्त नहुने आदेश गरेको थियो । उक्त आदेशमा उनको बिगो यकिन नभएको, मुद्दामा अभियोग खण्डित भएर सफाइ पाउने तहको नयाँ प्रमाण फेलासमेत नपरेको अवस्थामा मिलापत्र वा धरौटीमा रिहाइको अवस्था नरहेको पनि स्पष्ट पारेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्