काठमाडौं । भारतको जम्मुको कटरास्थित वैष्णो देवी धामको बाटोमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । घटना मंगलबार दिउँसो ३ बजे पुरानो बाटोमा अर्धकुमारी मन्दिरबाट केही टाढा एक भोजनालयनजिक भएको हो । मंगलबार रातिसम्म सात जनाको मृत्यु भएकामा आज बिहानसम्म ३२ पुगेको हो ।
ठूल्ठूला ढुंगा, रुख र माटोमा पुरिएर बढी क्षति भएको बताइएको छ । एक प्रत्यक्षदर्शीले भने, “ठूला–ठूला ढुंगा अचानक खस्न थाले र सबै ध्वस्त भयो ।”
प्रशासनका अनुसार, २३ भन्दा बढी व्यक्ति घाइते भएका छन् । धेरै बेपत्ता छन् । मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ । हाल, यस क्षेत्रमा भारी वर्षाका कारण वैष्णो देवी यात्रा स्थगित गरिएको छ ।
मंगलबार जम्मु सहरमा २४ घण्टाभन्दा कम समयमा २५० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो । यसबाट धेरै ठाउँमा बाढीको अवस्था सिर्जना भएको थियो । घर र खेतहरूमा पानी भरिएको छ ।
त्यहाँ चल्ने रेलले पनि आज जम्मु–कटरा चल्ने र यहाँ रोकिने २२ वटा ट्रेन रद्द गरेको छ । यसबाहेक, २७ वटा ट्रेनको सेवा छोटो बनाइएको छ । यद्यपि, कटरा–श्रीनगरबीच ट्रेन सेवा जारी छ ।
इकोनोमिक्स टाइम्सबाट ।