site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पको कर नीतिले भारतीय कारखाना बन्द हुने अवस्थामा
तस्बिर : बीबीसी ।

काठमाडौं । भारतीय कारखाना बुधबारदेखि लागु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिका कारण बन्द हुन थालेका छन् ।

वासिङटनले नयाँ दिल्लीले रुसी तेल खरिद गरेको भन्दै भारतीय सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाएको छ । त्यसबाट कुल कर दर ५० प्रतिशत पुगेको छ । यो दर विश्वमै सबैभन्दा उच्चमध्ये एक हो ।

यो कदमले भारतको कपडा, रत्न र समुद्री खाद्य क्षेत्रमा लाखौँ रोजगारी खतरामा परेको छ । भारतको सबैभन्दा ठूलो निर्यात बजारमा सामानको प्रवाहलाई गम्भीर रूपमा अवरुद्ध गर्ने सम्भावना रहेको द टेलिग्राफले जनाएको छ ।

“तिरुपुर, नोएडा र सुरतका कपडा र पहिरन वा फेसन निर्माताले लागत प्रतिस्पर्धा क्षमता बिग्रँदै गएकाले उत्पादन रोकेका छन्,” भारतीय निर्यात संगठन संघ (एफआईईओ)का अध्यक्ष सुभाष चन्द्र राल्हानले भने, “यो क्षेत्र भियतनाम र बंगलादेशजस्ता कम लागतका प्रतिस्पर्धीसँग आफ्नो बजार गुमाउँदै छ । झिँगे माछाजस्ता समुद्री खाद्य अमेरिकी बजारले भारतीय समुद्री खाद्य निर्यातको करिब ४० प्रतिशत हिस्सा ओगट्ने गरेकोमा कर वृद्धिले स्टकपाइल नोक्सानी, आपूर्ति शृंखलामा अवरोध र किसानमा संकट निम्त्याउने जोखिमछ ।”

यदि, करको मुद्दा तुरुन्तै समाधान नगरिए साना र मध्यम क्षेत्रका भारतीय कारखाना टाट पल्टने जनाइएको छ । “यद्यपि, अमेरिकासँग तत्काल कूटनीतिक संलग्नताका निम्ति वार्ताको अवसरको उपयोग गर्नु अझै पनि महत्त्वपूर्ण छ,” उनले भने ।

उनले अगाडि भने, “भारतको अमेरिका–प्रतिबद्ध लगभग ५५ प्रतिशत ढुवानी भएकामा अब ३०–३५ प्रतिशत क्षतिको सामना गर्नुपर्ने भएको छ, जसले गर्दा भारतीय सामानहरू चीन, भियतनाम, कम्बोडिया, फिलिपिन्स र अरू दक्षिणपूर्व तथा दक्षिण एसियाली देशहरूका प्रतिस्पर्धीहरूको तुलनामा कम प्रतिस्पर्धी बनेका छन् ।”

उनले भारत सरकारलाई उद्योगलाई सस्तो कर्जा, ऋण स्थगन र द्रुत व्यापार सम्झौतामार्फत सहयोग गर्न आह्वान गर्दै वासिङटनसँग तत्काल कूटनीतिक संलग्नताको आवश्यकतामा जोड दिए ।

दिल्लीनजिकै नोएडामा आफ्नो सानो पाँच–कामदार एकाइ विस्तार गर्ने आशामा वर्षौंसम्मको आम्दानी बचत गरेर मुकेश कुमारले चार हजार पाउन्ड मूल्यको एम्ब्रोइडरी मेसिन किनेका थिए । उनको आधा काम निर्यात अर्डरबाट आउने गरेको थियो । तर, हाल काम घटेको छ ।

उनले भने, “मेरो योजना भत्कियो, किनकि अर्डरहरू आउन छाडेका छन् । मैले अझै पनि मेरा कर्मचारीहरूलाई तलब दिनुपर्छ । मैले उनीहरूलाई जागिरबाट हटाउनुपर्ने हुनसक्छ । हामी कसरी बाँच्ने मलाई थाहा छैन ।”

विश्वको हिरा पोलिसिङ व्यापारको केन्द्र गुजरातको सुरतमा सयौँ कामदारलाई कुनै थोरै क्षतिपूर्ति दिएर घर पठाइएको छ ।

विनेश खोलाकियाले सुरतको कसनगर–कटारगामस्थित कृष डायमन्ड नामको एउटा हिरा कारखानाको साइनिङ सेक्सनमा पाँच वर्ष बिताएका थिए । २४ वर्षीय विनेशलाई ७५ पाउन्ड दिइयो र उनलाई अरू १०० जनासँगै घर जान भनियो ।

“हाम्रो म्यानेजरले काम छैन, घर जाओ भने,” सुरतको अमरोलीका बासिन्दा खोलाकियाले भने ।

“काम गर्ने ठाउँहरू छैनन्,” उनले भने, “हिरा उद्योग बन्द भएको छ । मसँग अरू कुनै सीप छैन । म अरू केही गर्न सक्दिनँ ।”

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १३:१४
प्रतिक्रिया दिनुहोस्