site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विद्याप्रति ती ओली, यी ओली : बोली फेर्दै धम्की– भीम रावलकै हविगत हुनेछ !

काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनमा पार्टीकी पूर्वउपाध्यक्ष, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति सार्वजनिकरूपमै अझ धारिलो हुँदै छन् ।  पार्टीका बैठकहरूमा सीमित ओलीका आक्रामक बोली सार्वजनिक रूपमै छरपष्ट हुँदै छन्, अब त विद्या भण्डारीको हालत भीम रावलझैँ हुने चेतावनी पनि ओलीको छ ।

केन्द्रीय समिति बैठकमा साउन ५–६ गते ओलीका कठोर बोली बाहिरिएको थियो । अब त त्यही कुरा ओलीले सार्वजनिक रूपमै भन्न थालेका छन् ।

पार्टी कार्यालय च्यासलमा भदौ ६ गते आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले भण्डारीको सदस्यताबारे लामो अभिव्यक्ति दिए । उनले भण्डारी पार्टी कार्यालयका कर्मचारीलाई झुक्काएर पार्टी सदस्यता लिएको आरोप लगाएका थिए ।

“त्यत्रो राष्ट्रपति भएको मान्छे, राष्ट्रपतिबाट फर्किएर आएपछि सदस्यताको रसिद काट्ने ठाउँमा कर्मचारी झुक्याएर रसिद लिएर त हुँदैन नि त,” ओलीको कटाक्ष थियो । 

बुधबार ओलीले आगामी विधान महाधिवेशनमा काठमाडौंबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसँग भेटेका थिए । अनौपचारिक भनिएको भेटबारे काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले फेसबुकमामार्फत सार्वजनिक गरे । 

उनको स्टाटसमा लेखिएको विषयमा ओलीको सचिवालयले बिहीबार खण्डन पठायो । खण्डन मात्रै गरेको छैन, सचिवालयमार्फत विद्याबारे ओलीको बोलीको भिडियो क्लिप नै सार्वजनिक गरेको छ । 

जसमा ओलीले केही कुरा प्रस्ट रूपमा भनेका छन् । जुन भिडियोमा छ– 

विद्यालाई नउचालौं 

ओलीले नेता कार्यकर्तालाई विद्यालाई नउकास्न आग्रह गरेका छन् । उनले दुई कार्यकाल राष्ट्रपति भइसकेको व्यक्तिलाई अध्यक्षको उमेद्वार बनाउँदा गल्ती हुने भनाइ ओलीको छ । “उहाँको सम्मानका लागि हामी सबैले, उहाँलाई फर्किएर आएर उम्मेदवार बन्ने, बनाउने गल्ती नगरौँ । उहाँ आएर महाधिवेशनमा ल जित्नुभयो भने त बहुत राम्रो,’’ ओली प्रश्न गर्छन्, ‘‘तर जित्ने स्थिति छ ?”

केन्द्रीय कमिटीमै हारे के हुन्छ ? 

विद्याले चुनाव जित्नै नसक्ने जिकिर ओलीको छ । ओलीले भण्डारी केन्द्रीय सदस्यमै हार्ने संकेत गरेका छन् ।

पार्टी र आन्दोलनको हितका लागि चुनाव हार्नैपर्ने भनाइ ओलीको छ । “केन्द्रीय कमिटीमा हार्नुभयो भने के हुन्छ ? उहाँ केन्द्रीय कमिटीको सदस्य भएर बस्नुभयो भने के हुन्छ ? उहाँलाई अध्यक्ष दिन सकिँदैन । निश्चित कुरा के हो भने उहाँ चुनाव लड्नुभयो भने हार्नुहुन्छ । नराम्ररी हार्नुहुन्छ,” ओलीको जिकिर छ, “उहाँ हार्नुपर्छ पार्टीको, आन्दोलनको, हितको लागि ।”

ओलीले ‘लालगेडी’ भएर आन्दोलन नचल्ने समेत बताए । “लालगेडी भएर त चल्दैन नि । यो त संघर्षको मैदान हो नि । सबैको आँखामा हाल्दा नबिझाउने लालगेडी भएर चल्छ, आन्दोलन ?” ओलीको प्रश्न छ ।

भीम रावल बनाउने चेतावनी 

भण्डारीको अवस्था भीम रावल जस्तो बन्ने संकेत पनि गरे, ओलीले । ०७८ को १० आंैं राष्ट्रिय महाधिवेशनमा ओलीले तत्कालीन उपाध्यक्ष भीम रावललाई उपाध्यक्ष बन्न प्रस्ताव गरेका थिए । तर, रावलले उनको प्रस्ताव स्वीकार गरेनन् ।

उनी अध्यक्षमा ओलीको प्रतिष्पर्धी बने । रावलले चुनाव हारे । केन्द्रीय सदस्य बन्न समेत अस्वीकार गरे । पार्टीमा बारम्बार जिम्मेवारी खोजे, तर उनले चाहे जस्तो जिम्मेवारी पाउन सकेनन् । अन्ततः उनलाई एमालेले ०८१ पुसमा पार्टीबाटै निस्कासन गरेको थियो । 

विद्याले पनि चुनाव हारेपछिका गतिविधिका कारण स्पष्टीकरण सोध्नुपर्ने ठाउँमा पुग्ने टिप्पणी ओलीको छ । “उहाँ भीम रावलको तरिकाले चुनाव हार्ने, असन्तुष्ट हुने, अनि खाँबो चिथोर्ने, बस्ने अलिक समय । पार्टीले स्पष्टीकरण सोध्नुपर्ने हुन्छ,” उनले भने । 

ओलीले राष्टपति भइसकेको व्यक्तिलाई स्पष्टीकरण सोध्नुपर्ने ठाउँमा पुग्दा राम्रो सन्देश नजाने बताए । “राष्ट्रपति भइसकेको सम्मानित व्यक्तिलाई स्पष्टीकरण सोध्नुपर्ने ठाउँमा पुर्‍याउने ? अहिले उहाँको सदस्यता छैन, हामी स्पष्टीकरण सोध्न सक्दैनौँ । बरु यही ठीक छ नि । उहाँलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने बिन्दुमा पार्टी पुग्यो भने कति नराम्रो सुनिन्छ, कति नराम्रो देखिन्छ ?,” ओलीले भने । 

त्यो बोलीले चर्चामा ओली 

ओली विगतको आफ्नै बोलीका कारण पनि चर्चामा छन् । प्रधानमन्त्री बन्नुअघि भण्डारीबारे दिएको अन्तर्वार्ताको क्लिप केही यता सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

दुई वर्षअघि प्राइम टेलिभिजन अन्तवार्तामा ओलीले विद्या भण्डारीबारे सोधको प्रश्नमा राजनीतिमा आउनु हुँदैन भन्ने बेकारको कुरा भएको बताएका थिए । “पोलिटिक्समा आउनुहुँदैन भन्ने बेकारको कुरा हो,” ओलीले भनेका थिए ।
त्यसो भए राजनीतिमा आउनुहुँदैन भन्ने एमालेको बटमलाइन होइन भन्ने प्रश्नमा ओलीले भनेका थिए, “कसरी बटमलाइन हुन्छ ? उहाँको खुसीको कुरा हो नि । राजनीति भनेको कसैले गर्न पाउँदैन भन्ने पनि कुरा हुन्छ ? कसैले पनि राजनीति गर्न पाइँदैन भन्ने कुरा हुँदैन ।”

पूर्वराष्ट्रपति एमाले अध्यक्ष बन्न पाउँछ ? भन्ने थप प्रश्नमा ओलीले भनेका थिए, “राष्ट्रपति कसैलाई कांग्रेसको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ । अर्को पार्टीको अध्यक्ष बनाउँछ भने पनि पाउँछ । एमालेको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ । कुन पार्टी, कसको के गर्छ त्यो पनि पाउँछ । कस्तो राजनीति गर्छ, त्यो पनि पाउँछ ।”

उनले समाजसेवा गरेर बस्न पाउने पनि बताएका थिए । 

एक वर्षमा नै गणतन्त्रको खतरा बनिन् विद्या !

भण्डारी राष्ट्रपतिको दोस्रो कार्यकाल सकेर ०७९ फागुन २९ गते शीतल निवासबाट फर्किएकी थिइन् । उनलाई विद्यालाई एमालेले १४ महिनाअघि ‘गणतन्त्र गौरव’बाट सम्मानित गर्यो । ०८१ वैशाख १० गते नेकपा स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा गोदावरीमा आयोजित राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा सम्मान प्रदान गरेको थियो । तत्कालीन प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मान प्रदान गरेका थिए ।

bidhyabhandari-1756381283.jpg
 

एमालेको तत्कालीन उपाध्यक्ष भण्डारीले लोकतन्त्र, गणतन्त्र र ३३ प्रतिशत महिलालाई राज्यका हरेक निकायमा प्रतिनिधित्व गर्ने सवालमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै एमालेले सो सम्मान गरेको थियो ।  

भण्डारी दुई कार्यकाल राष्ट्रपति बनेकी थिइन् । गणतन्त्र गौरव सम्मान गरेको एकवर्षमा नै भण्डारीलाई हेर्ने ओलीको नजर फेरिएको छ । त्यसरी सम्मान गरेको व्यक्तिलाई एमाले नेतृत्व यतिखेर संशयपूर्ण आँखाले हेर्दै छ ।

साउन ५–६ गतेको बैठकले भण्डारीलाई सम्मानित भएर बस्न सुझायो । र, भण्डारी राजनीतिमा आउँदा गणतन्त्रमाथि खतरा हुने टिप्पणी एमाले नेताहरूले गरिरहेका छन् ।

गएको असार १४ गते एमालेमा सक्रिय रहेको घोषणा गरेकी भण्डारीले सक्रियता बढाएकी छन् । उनको सक्रियतालाई लिएर एमाले महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति राजनीतिमा आउने विषय गणतन्त्रमाथि नै खतरा भएको टिप्पणी गर्दै आइरहेका छन् ।

अध्यक्ष ओलीले दुईपटक राष्ट्रपति भएको व्यक्तिले फर्किएर पार्टीमा समस्या खडा गर्ने कल्पना समेत नगरेको टिप्पणी गर्दै आएका छन् । “पार्टीले दुई–दुई पटक राष्ट्रपति बनायो । त्यस्तो व्यक्ति फर्किएर पार्टीमा समस्या खडा गर्नुहुन्छ भन्ने कुरा पार्टीले कल्पना गरेको थिएन,” ओली भन्छन् ।

पहिले के भन्थे, अहिले के भन्छन् ? हेर्नुहोस्

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १६:५८
प्रतिक्रिया दिनुहोस्