site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मेक्सिकोको संसद्‌मा दुई वरिष्ठ नेताबीच धकेलाधकेल

काठमाडौं । मेक्सिकोको सिनेट (संसद्)मा अमेरिकी सैन्य हस्तक्षेपका विषयमा चर्को बहसपछि दुई वरिष्ठ नेताबीच हातपात भएको छ । सत्तारूढ मोरेना पार्टीका सिनेट अध्यक्ष गेरार्डो फर्नान्डेज नोरोना र विपक्षी इन्स्टिट्युसनल रिभोल्युसनरी पार्टी (पीआरआई)का नेता अलेजान्द्रो मोरेनोबीच धकेलाधकेल भएको हो ।

सिनेटको कारबाही सकिएपछि सांसदहरूले राष्ट्रगान गाइरहेका बेला बुधबार यो अप्रिय घटना भएको थियो । घटनाको प्रत्यक्ष प्रसारण विश्वभरका दर्शकले हेरेका थिए । त्यहाँ दुई नेताबीच तनावपूर्ण विवाद र हात हालाहाल स्पष्ट देखिएको थियो ।

विवाद कसरी सुरु भयो ?
यो तनाव एक बैठकपछि सुरु भएको थियो । बैठकमा मेक्सिकोमा विदेशी सशस्त्र बलको उपस्थितिका विषयमा तीव्र बहस भएको थियो । सत्तारूढ मोरेनाले विपक्षी पीआरआई र प्यान पार्टीमाथि मेक्सिकोका लागुऔषध कार्टेललाई नियन्त्रण गर्न अमेरिकी सैन्य हस्तक्षेपको माग गरेको आरोप लगाएको थियो । विपक्षी भने यस्तो दाबीलाई ठाडै अस्वीकार गर्दै आएका छन् ।

यही विषयको विवाद बढ्दै जाँदा पीआरआई नेता मोरेनोले सिनेट अध्यक्ष नोरोनामाथि हातपात गरे । प्रत्यक्षदर्शीका अनुसार, मोरेनोले ‘मलाई बोल्न देऊ’ भन्दै नोरोनाको हात समातेका थिए । जवाफमा नोरोनाले ‘मलाई नछोऊ’ भने । विवाद यतिमै रोकिएन र दुवैबीच हातपात सुरु भयो ।

सिनेट अध्यक्ष नोरोनाले मोरेनोले आफूलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन् । त्यहीक्रममा अर्का एक सांसदले पनि आफूमाथि मुक्का प्रहारको प्रयास गरेका उनको भनाइ छ ।

भिडियो हेर्नोस्–

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १०:३०
प्रतिक्रिया दिनुहोस्