काठमाडौं । सभामुख देवराज घिमिरेले सरकार र राजनीतिक दलहरूबीच संवाद हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु भएपछि सांसदहरूलाई समय दिनुअघि सभामुख रास्वपा र राप्रपाले लगातार संसद् बहिष्कार गरिरहेको र आफूले सहमतिको प्रयास गरे पनि सहमति जुट्न नसकेको बताए ।
"भिजिट भिसा प्रकरणको छानबिनलगायत माग राखी लामो समयदेखि प्रतिपक्षी बेन्चमा रहेका माननीय सदस्यज्यूहरू नियमित बैठकमा सहभागी हुनुभएको छैन । यस सम्बन्धमा सहमतिका लागि म आफैँले सम्भाव्य सबै पहल र संवादको मार्ग अपनाएको बारे माननीयज्यूहरू जानकार नै हुनुहुन्छ," सभामुखले भने, "यसका बाबजुद पनि म आज पनि सहमतिका लागि प्रयत्नशील रहेको छु ।"
तर, सरकारबाट उचित पहलकदमी हुन नसकेको उनको भनाइ छ । "तर, सदन सुचारु बनाउन सरकार र राजनीतिक दलहरूबीच हुनुपर्ने छलफल र संवाद नभएकामा चिन्तित छु," सभामुख घिमिरेले भने ।