काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले आन्दोलनरत कबाड व्यवसायीको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले कबाड व्यवसायी गत सोमबारदेखि नै सडक आन्दोलनमा रहे पनि सरकारले वार्तामार्फत उनीहरूका माग सम्बोधन नगरेकोप्रति आपत्ति जनाइन् ।
सांसद यादवले काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डेले रंगभेदी भेदभाव गरेको पनि आरोप लगाइन् । पाण्डेले माफी माग्नुपर्ने उनको भनाइ छ ।
"काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुखले नेपाली गोरामात्रै हुन्, काला नेपाली होइनन् भनेर कबाड व्यवसायीलाई भनेको अभिव्यक्ति खेदजनक छ । रंगले नेपाली हुने होइन, जन्मको आधारमा आफ्नो परिचयले नेपाली हुने हो । त्यसकारण काडमाडौं महानगरका प्रहरी प्रमुखले दिनुभएको अभिव्यक्ति निन्दनीय छ । यस्ता अभिव्यक्तिप्रति उहाँले माफी माग्नुपर्छ," उनले भनिन् ।
न्युज एजेन्सी नेपालबाट ।