site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
६ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ता हुने, मोदीसँगको भेटको टुंगो लागेन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् । 

प्रतिनिधिसभालाई आफ्नो चीन भ्रमणबारे जानकारी दिने क्रममा शुक्रबार (भदौ १३) प्रधानमन्त्री ओलीले चीन र रुसका राष्ट्रपतिसहित ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ताको टुंगो लागेको बताएका हुन् ।

प्रधामनमन्त्री ओली सांघाई सहयोग संगठनको शिखर (एससीओ) सम्मेलनमा सहभागी हुन भदौ १४ गते चीन प्रस्थान गर्दै छन् । प्रधानमन्त्री ओलीले चीन भ्रमणमा रहँदा चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ उपराष्ट्रपतिसँग भेटवार्ता गर्नेछन् । 

“हालसम्म रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भइसकेको छ,” प्रधानमन्त्री ओलीले भने ।

एससीओ शिखर सम्मेलनका दौरान विभिन्न राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको उनले जनाएका हुन् । “ती भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुनेछ,” उनले भने ।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटवार्ताका विषयमा भने केही बोलेनन् । भारत एससीओको सदस्य हो भने नेपाल संवाद साझेदार हो । भारतीय प्रधानमन्त्री मोदी एससीओको सम्मेलनमा सहभागी हुन चीन जाँदै छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, भारतीय प्रधानमन्त्री मोदीसँग पनि द्विपक्षीय वार्ताको लागि समय मिलाउने प्रयास भइरहेको छ । 

भदौ ३ गते भारत र चीनबीच भारत नियन्त्रित नेपाली भूमि लिपुलेकबाट व्यापार पुनः सुचारु गर्ने सहमति गरेपश्चात नेपालमा भारतको व्यापाक आलोचना भइरहेको छ । 

प्रधामन्त्री ओलीलाई चीन भ्रमणका बेला लिपुलेक मुद्दा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसमक्ष उठाउन सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले अनुरोध गरेका थिए । चीन भ्रमणबाट फर्केपछि प्रधानमन्त्री ओलीको भारत भ्रमणमा जाने कार्यक्रम छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्