site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसदको सुझाव : चीन भ्रमणमा लिपुलेक, कालापानी र लिम्पियाधुराबारे स्पष्ट अडान राख्नुस्
फाइल तस्बिर।

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) राष्ट्रियसभाकी सांसद मदनकुमारी साह गरिमाले आसन्न चीन भ्रमणमा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुराबारे स्पष्ट धारणा राख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन् ।

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि चीन, भारत लगायतका ठूला मुलुकले हडप्न नसक्नेगरी चीनसँग दृढतापूर्वक अडान लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिइन् । 

सांसद साहले भ्रमणबारे राष्ट्रिय सहमतिका लागि सर्वदलीय बैठक राखेर प्रधानमन्त्री ओली चीन भ्रमणमा जान नचाहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरिन् । राष्ट्रियता जोगाउने मामिलामा नेपालका राजनीतिक दलका नेताहरू एक ठाउँमा छन् भन्ने सन्देश दिने गरी प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणका गएको भए उचित हुने उनको भनाइ थियो । 

"प्रधानमन्त्रीज्यूको आसन्न चीन भ्रमणमा लिपुलेक, कालापानी, लिम्पियाधुराबारे नेपालको स्पष्ट धारणा दृढतापूर्वक राख्न अध्यक्षज्यूृमार्फत सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष जोडदार माग गर्दछु," उनले भनिन्, "सीमा विवाद रहेको दुई ठूलो छिमेकी मुलुकहरूले हाम्रो सार्वभौमिकता र अखण्डतामा धावा बोलेको अवस्थामा राष्ट्रियताका विषयमा राष्ट्रिय सहमतिका साथ प्रधानमन्त्रीजीले सर्वदलीय बैठक बोलाएर यो विषयमा हामी सबै एकताबद्ध छौँ भन्ने सन्देश लिएर जानु भएको भए अति उत्तम हुने थियो ।"

सांसद साहले प्रधानमन्त्री ओलीको चीन भ्रमणको सफलताको कामना समेत गरिन् । न्युज एजेन्सी नेपाल

 

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्