site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसनिकट इन्जिनियरको संस्था सीडेन चुनाव : केसी र झाको प्यानल प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेस इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल ‘सिडेन’मा दुई पक्षीय भिडन्त हुने भएको छ । 

अध्यक्षमा सभापति शेरबहादुर देउवा पत्नी आरजु राणानिकट रविभुषण झाको नेतृत्वको टिम बनेको छ । त्यो टिमलाई कांग्रेस नेताहरू प्रकाशमान सिंह र एनपी साउदको संरक्षण रहेको स्रोत बताउँछ ।

उनको टिमलाई धेरै जना नेताहरूको समर्थन लिएर धनेन्द्र केसीले चुनौती दिँदै छन् । नेपाली कांग्रेसमा संस्थापनइतरको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाले केसीलाई समर्थन दिएका छन् । डा. शेखरसँगै डा. शशांकले पनि उनै केसीलाई समर्थन गरेका छन् । त्यसबाहेक महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले पनि केसीलाई समर्थन दिएका छन् । 

विगतमा संस्थापन र संस्थापनइतरका इन्जिनियरहरू विभाजित भएर चुनाव लड्ने गरेकोमा यसपटक भने टिम नेताहरूको नियन्त्रणमा बन्न पाएको छैन । तर जानकारहरू भने त्यसो नभएर दुवै पक्ष निकट मानिएकाहरू दुवै समूहमा रहेका छन् । 

दुवैतर्फका इन्जिनियरहरू टिममा बसेका कारण चुनाव भने टिमकेन्द्रित नभएर व्यक्तिकेन्द्रित हुने पक्का भएको उनीहरूको तर्क छ । त्यसैले कुन टिम आउँछ भनेर आकलन गर्न कठिन भएको स्वयम् अभियानमा लागेकाहरूले नै बताउने गरेका छन् । 

“हामीले धनेन्द्र केसीलाई समर्थन गरेका छौँ । अध्यक्षमा हाम्रो उमेदवार उहाँ नै हो,” डा. शेखरका तर्फबाट निर्वाचन परिचालनको जिम्मेवारी पाएका एक नेताले बाह्रखरीसँग भने । 

कांग्रेस नेता प्रदीप पौडेलसँग निकट रहेर काम गरेका केसी गगन, विश्व र प्रदीपका साझा उमेदवार हुन् । उनलाई संस्थापन पक्षमा रहेका डा. शशांक, जितजंग बस्नेत र नैनसिंह महरको समेतको समर्थन रहेको छ । 

सिडेनको चुनाव अहिले नेताहरुबाट भन्दा इन्जिनियरहरुबाटै प्रभावित हुने उनीहरुको बुझाइ छ । 

“हामी कांग्रेस निकट भएको कुरामा दुइमत भएन तर, सिडेन  राजनीतिक भन्दा पेशागत संगठन हो,” डा. शेखर निकट एक इन्जिनियरले भने, “केहीलाई राजनीतिक नियुक्तिको लोभ देखाएर झाको टिममा उभ्याइएको पनि पाइएको छ । केहीलाई सत्ताको प्रभावमा पनि उता राख्ने काम भएको छ । तर, जेसुकै प्रयास गरे पनि यसपटक इन्जिनियरहरु पेशागत रुपमै एकाकार हुने निश्चित छ ।” 

अध्यक्षका प्रत्यासी धनेन्द्र केसी विगतमा भन्दा फरक ढंगको टिम बनेकाले आफ्नो जित सुनिश्चित भएको बताउँछन् । "शिवभुषण झा मधेसी मुलको हुँदा क्षेत्रीको समर्थन उनलाई हुने आकलन गरिएको थियो, तर मलाई मधेसका साथीहरूबाट पनि उत्साहजनक समर्थन पाएपछि जित लगभग सुनिश्चित भएको छ," अध्यक्षका उमेदवार केसी समूहका एक उमेदवारले भने, "तर पनि चुनाव हो, हामी अन्तिमसँग मेहेनत गरिरहनुपर्छ ।" उनी सिनियरदेखि युवासम्मको टिम बनेको र यसपटक फरक ढंगको ऊर्जा विस्तारित भएको बताउँछन् । 

अर्को टिमको नेतृत्व गर्दै अध्यक्ष उमेदवार बनेका शिवभुषण झा भने आफू सिंगो संस्थापनको उमेदवार भएको दाबी गर्छन् । उनी नेतासँग जोडिएर राजनीतिक करियर खोज्ने सानो समूह मात्र रहेको भन्दै व्यक्तिगत प्रभाव र सक्रीयताले चुनावको परिणाम निर्धारित हुने बुझाइमा छन् । 

उता कुलराज खनालले महासचिवमा एक्लै उमेदवारी दिएका छन् । पहिले खुमबहादुर खड्कासँग निकट रहेका खनालले सिडेन राजनीतिक पार्टीका पदहरुमा नअटाउने इन्जिनियरहरुको संस्था मात्र नभएको भन्दै पेशागत रुपमा सबैलाई समेट्नेगरी निर्माण हुनुपर्ने बताउँछन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १८:५५
प्रतिक्रिया दिनुहोस्