काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन पुगेका छन् । सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन शनिबार (भदौ १४) दिउँसो उनी चीनको तियानजिन सहरमा पुगेका हुन् ।
उनले २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गरेका छन् । तियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई चिनियाँ उच्च अधिकारीसहित चीनका निम्ति नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चिनियाँ राजदूत चेन सोङलगायत अधिकारीले स्वागत गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ गएका हुन् । उनी स्थानीय समयानुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत तियानजिन पुगेका सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीसँग तियानजिनमा भेट गर्ने कार्यक्रम छ । उनले भदौ १६ गते तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ । एससीओ शिखर सम्मेलनको ‘साइडलाइन’मा प्रधानमन्त्रीले केही विश्व नेताहरूसँग भेटघाट गर्नेछन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, भारतीय प्रधानमन्त्री मोदीसँग पनि द्विपक्षीय वार्ताका निम्ति समय मिलाउने प्रयास भइरहेको छ ।
प्रधानमन्त्री ओलीले भदौ १७ गते बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
भदौ १८ गते चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासिस्टविरोधी युद्धको विजयको ८०औँ वार्षिकोत्सवको अवसरमा बेइजिङमा आयोजना गरिने कार्यक्रममा उनी सहभागी हुनेछन् ।