काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थासहित निर्वाचनमा सहभागी हुन चुनौती दिएका छन् । शनिबार (भदौ १४) झापाको बिर्तामोडमा राप्रपाको जिल्ला अधिवेशनमा उनले यस्तो चुनौती दिएका हुन् ।
जनतामा धेरै नै लोकप्रिय छु भन्ने लागेको भए संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्न उनले चुनौती दिए । उनले आवश्यक परे आफूले झापा क्षेत्र नम्बर–५ बाट निर्वाचन लड्ने पनि बताए । प्रधानमन्त्री, मन्त्री र सांसद जित्नु आफ्नो उद्देश्य नरहेको उनको भनाइ थियो ।
राप्रपाको जिल्ला अधिवेशनमा लिङदेनको भनाइ पढ्नोस्–
अस्ति प्रधानमन्त्रीले आफ्नो कार्यकर्तालाई ब्रिफिङ गर्ने बेलामा भन्नुभएछ– अब त्यो राजेन्द्र लिङदेन भन्ने मान्छेले झापामा कहाँबाट जित्दो रहेछ हेरौँला भन्नुभएछ । त्यो भनेको त थर्काएको कुरा भयो नि त होइन ? होइन हजुर, मैले त त्यस्तो भनेको छैन, हामी त मिल्नैपर्छ नि भनेको छैन । म आजबाट यहाँबाटै शालीनतापूर्वक जवाफ के दिन चाहन्छु भने, हाम्रो केही सहकार्य भयो । राजेन्द्र लिङदेन एउटा सांसद जित्नु र नजित्नुभन्दा माथि छ भन्ने कुरा उहाँले बुझिदिनुपर्छ । म सांसद त के बाँकी जीवन एउटा वडाको सदस्य नभएर मर्न तयार छु । तर, यो भ्रष्ट व्यवस्थाको विरुद्ध उभिन्छु भनेर आएको हुँ । म आगामी दिनमा मन्त्री, प्रधानमन्त्री, सांसद हुन्छु कि हुन्नँ भनेर हिँडेको मान्छे होइन । एउटा सांसद जित्नु मात्रै मेरो उद्देश्य होइन । समयले खोजेछ भने झापा–५ टाढा होइन, राजेन्द्र लिङदेन त्यहाँ गएर लड्न सक्छ । न्युज एजेन्सी नेपाल