काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीलाई कमजोर बनाउने खालका कुनै काम गर्न नहुने बताएका छन् ।
शनिबार (भदौ १४) प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले एमालेले राष्ट्रपतिजस्तो सम्मानित र गरिमामय पदमा पुर्याएकाले पार्टीलाई कमजोर बनाउने खालका गतिविधि पूर्वराष्ट्रपति भण्डारीले गर्न नहुनेमा जोड दिए । पूर्वराष्ट्रपतिको पदीय गरिमा र व्यक्तित्वलाई सम्मान गर्न पनि दलगत राजनीतिमा आउन दिन नहुने उनले तर्क गरे ।
संविधानले पनि राष्ट्रपति, उपराष्ट्रपतिजस्ता राष्ट्रको अभिभावकको रूपमा रहेका व्यक्तिलाई दलीय राजनीतिमा फर्कन नमिल्ने परिकल्पना गरेको उनले जिकिर गरे । राष्ट्रपति भइसकेको व्यक्ति दलीय राजनीतिमा फर्कंदा पदीय गरिमाको पनि न्याय नहुने उनको भनाइ थियो ।
उनले पूर्वराष्ट्रपति भण्डारीप्रति पार्टीको आदरभाव र योगदानप्रतिको सम्मानमा कुनै कमी हुन नदिने पनि बताए ।
अन्तरसंवाद कार्यक्रममा ज्ञवालीको भनाइ पढ्नोस्–
राष्ट्रपति, उपराष्ट्रपतिजस्ता उच्च ओहोदामा रहेका, जुन राष्ट्रको पनि एकदमै उच्च ओहोदा हो । जो गणतन्त्रका प्रतीकहरू पनि हुन् । जहाँ जानका लागि पनि संविधानको धारा ६२ को उपधारा ६ हेर्नुभयो भने निर्वाचित भएको भए पनि, मनोनीत भएको भए पनि वा नियुक्त भएको होस्, जुनसुकै जिम्मेवारीमा भए पनि त्यो पदमा निर्वाचित हुनेबित्तिकै त्यो सबै पदहरूबाट स्वतः मुक्त हुने संविधानको धारा ६२ को उपधारा ६ ले त्यो भन्छ । एउटा साझा सबैको आग्रहभन्दा माथिको राष्ट्रकै अभिभावकको परिकल्पना सो संविधानले गरेको छ । हाम्रो लोकतान्त्रिक प्रणालीले गरेको छ । त्यो ओहोदामा रहनुभएका व्यक्तित्वहरू फेरि फर्केर पार्टी राजनीतिमा, जहाँ दलीय इन्ट्रेस्टहरू हुन्छन् । दल भनेकै आफ्नो निश्चित राजनीतिक स्वार्थ पूरा गर्नका लागि बनेको संस्था हो । त्यो ठाउँमा आउँदा त्यो संस्थाको पनि गरिमा र त्यो व्यक्तिको पनि गरिमाको पनि न्याय गर्दैन । त्यो उचित हुँदैन भन्ने निष्कर्षका साथ हामीले एउटा प्रणाली बसाल्न खोज्यौँ । त्यो प्रणाली हामीले बसालेको हुनाले उहाँको सदस्यता नवीकरण भएको थियो/थिएन भन्ने प्रश्न नै अब तपसिलको प्रश्न भयो । अब यो विषयमा आइरहेका विभिन्न टीकाटिप्पणीहरूलाई हामीले हेरिरहेका छौँ । हाम्रो सम्माननीय पूर्वराष्ट्रपतिज्यूप्रतिको सम्मान, आदरभाव र उहाँको योगदानप्रतिको उच्च मूल्यांकन यथावत् नै छ । जुन पार्टीबाट, जुन संस्थाबाट जुन जमिनमा टेकेर हामी त्यो ठाउँमा पुगेका हुन्छौँ, आफ्नो कुनै निश्चित चाहना पूरा भएनन् भने फर्केर त्यही संस्थालाई कमजोर गर्ने गरी कुनै पनि काम कसैले पनि गर्नु हुँदैन भन्ने कुरा हामीलाई थाहा छ । हामी उहाँलाई सिंगै देशको अभिभावकको रूपमा देख्न चाहन्छौँ । न्युज एजेन्सी नेपाल