site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पलाई नोबेल पुरस्कारको मनोनयन नगर्दा भारतमाथि ५० प्रतिशत कर !

काठमाडौं । भारत र अमेरिकाबीच हालै चर्किएको तनावको वास्तविक कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नोबेल शान्ति पुरस्कार पाउने इच्छा रहेको द न्युयोर्क टाइम्सले एक रिपोर्टमा उल्लेख गरेको छ ।

ट्रम्पले भारत–पाकिस्तान युद्धविरामको श्रेय लिँदै आफूलाई नोबेल पुरस्कारका लागि मनोनयन गर्न मोदीलाई आग्रह गरेका तर मोदीले अमेरिकी भूमिका अस्वीकार गरेपछि ट्रम्प रिसाएको र दुई नेताबीच सम्बन्ध चिसिएको दाबी गरिएको छ ।

सोही कारण भारतमाथि ५० प्रतिशतको भारी कर लगाइएको अखबारले जनाएको छ  । रिपोर्टमा उल्लेख भएअनुसार ट्रम्पले गत जुन १७ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा कुरा गरेका थिए । 

कुराकानीका क्रममा ट्रम्पले भारत–पाकिस्तानबीच युद्धविराम गराउन पाएकोमा आफूलाई निकै गर्व लागेको बताएका थिए । त्यसपछि ट्रम्पले मोदीलाई पाकिस्तानले आफूलाई नोबेल पुरस्कारका लागि मनोनयन गर्न लागेको जानकारी दिँदै भारतले पनि त्यसै गरोस् भन्ने संकेत दिए । ट्रम्पको यो कुराले मोदी क्रुद्ध भएका थिए ।

मोदीले ट्रम्पलाई भारत–पाकिस्तानबीचको युद्धविराममा अमेरिकाको कुनै भूमिका नरहेको स्पष्ट पारेका थिए । उनले यो पूर्णतः भारत र पाकिस्तानबीचको द्विपक्षीय सहमति भएको बताएका थिए । रिपोर्टमा दाबी गरिएअनुसार, ट्रम्पले मोदीको कुरालाई बेवास्ता गरे, जसले गर्दा दुई नेताबीचको सम्बन्धमा दरार आयो । त्यसयता उनीहरूबीच कुनै कुराकानी भएको छैन ।

द न्युयोर्क टाइम्सको समाचार रिपोर्ट वासिङ्टन र नयाँ दिल्लीका एक दर्जनभन्दा बढी व्यक्तिहरूसँगको कुराकानीमा आधारित रहेको बताइएको छ ।  जसमध्ये धेरैले आफ्नो नाम गोप्य राख्न चाहेका बताएको अखबारले जनाएको छ । 

उनीहरूका अनुसार ट्रम्प र भारतबीचको सम्बन्धले दुवै देशमा ठूलो असर पार्न सक्ने र ट्रम्पको नीतिले भारत–अमेरिका सम्बन्ध कमजोर बनिरहेको बताएका थिए । अखबार लेख्छ– कुनै समय मोदीले ट्रम्पलाई ‘साँचो मित्र’ भनेका थिए, तर अब उनीहरूको सम्बन्ध ठिक छैन ।

राष्ट्रपति कार्यालयका अनुसार, यसवर्षको अन्त्यमा हुने क्वाड सम्मेलनमा भाग लिन ट्रम्प भारत आउने बताइएको थियो, तर अब उनको भारत भ्रमणको कुनै योजना नरहेको बताइएको छ । अहिले भारतमा ट्रम्पविरुद्ध नकारात्मक माहोल बनेको छ । 

गतहप्ता महाराष्ट्रको एक पर्वमा उनको ठूलो पुत्ला प्रदर्शन गरिएको थियो, जसमा उनलाई ‘पिठ्युँमा छुरा घोप्ने’ धोकेबाजको रूपमा देखाइएको थियो।  अखबारको रिपोर्टमा अमेरिकाले उठाएका कडा कदमहरूलाई एक भारतीय अधिकारीले ठाडो ‘गुन्डागर्दी’ को संज्ञा दिएका छन् ।

मोदीको राजनीतिक शक्ति कमजोर पार्ने ट्रम्पको चाहना

ट्रम्पको दोस्रो कार्यकालमा विश्वका धेरै नेताहरूले उपहार र प्रशंसाले उनको मन जित्ने प्रयास गरे ।  तर, ट्रम्प मोदीबाट अर्कै कुरा चाहेको अखबारले उल्लेख गरेको छ ।  “ट्रम्प मोदीको राजनीतिक शक्ति कमजोर भएको र उनी अप्रासंगिक भएको हेर्न चाहन्छन्,” रिपोर्टको दाबी छ । 

यदि मोदीले अमेरिकी दबाबमा एक कमजोर देशसँग युद्धविराम गरेको स्वीकार्दै भने, “त्यसले उनलाई ठूलो राजनीतिक क्षति पुग्नेछ ।” मोदीको ‘बलियो नेता’ को छवि पाकिस्तानप्रतिको उनको कठोर नीतिमा टिकेको छ । 
यदि युद्धविराममा ट्रम्पको भूमिका स्वीकार गरियो भने, त्यो मोदीका लागि आत्मसमर्पण गरेजस्तै हुनेछ । 

यस्तो अवस्थामा नोबेल पुरस्कारका लागि मनोनयन गर्ने कुरा नभएको समाचारमा उल्लेख छ ।  अर्कोतर्फ, पाकिस्तानले हतारमा ट्रम्पलाई नोबेलका लागि मनोनयन गरिसकेको छ । भारतको कडा प्रतिक्रियाबाट यो मुद्दा मोदीका लागि कति संवेदनशील छ भन्ने कुरा स्पष्ट हुन्छ । 

जानकारहरूका अनुसार, पछिल्लो दशकमा सत्ता मोदीको हातमा अत्यधिक केन्द्रित भएकाले उनको ‘बलियो नेता’ को छविलाई कुनै पनि हालतमा जोगाउने प्रयास गरिन्छ ।

पत्रिका लेख्छ– अहिले ब्राजिलसँगै भारत एकमात्र यस्तो देश बनेको छ, जसका सरकार प्रमुखले खुलेर ट्रम्पको विरोध गरेका छन् । यही कारणले भारतमाथि ५० प्रतिशत को भारी ट्यारिफ लगाइएको छ, जुन अरू कुनै पनि देशमाथि लगाइएको भन्दा बढी हो ।”
 

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्