काठमाडौं । पार्टी सभापति रवि लामिछानेलाई भेट्न नक्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रूपन्देही–३ का आकांक्षीले पालैपालो भेटिरहेका छन् । कारागार प्रशासनले एक पटकमा दुई जनाले मात्र भेट्न पाउने बताएपछि उनीहरू पालैपालो रविलाई भेटिरहेका छन् ।
उनीहरूले एकसाथ भेट्ने योजना बनाए पनि कारागार प्रशासनले एक पटकमा दुई जनाले मात्र भेट्न पाउने बताएको हो ।
रविलाई भेट्न पार्टीका नौ आकांक्षी उमेदवार आज ललितपुरस्थित नक्खु कारागार पुगेका हुन् ।
आउँदो कात्तिक १७ गते हुने रूपन्देही–३ मा उपनिर्वाचन हुँदै छ । जसका लागि रास्वपाका नौजना आकांक्षी छन् । उनीहरूमध्येबाट एक जनालाई रास्वपाले आजै उमेदवार घोषणा गर्दै छ ।
रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने मुद्दा पुर्पक्षका निम्ति थुनामा छन् ।
रास्वपाबाट रूपन्देही–३ को उमेदवारका लागि कुसुम महर्जन, मधु अर्याल, सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल आकांक्षी छन् ।