काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रूपन्देहीमा एक्लै चुनाव लड्ने र त्यसमा राम्रो नतिजा ल्याउने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेशको सातौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले रूपन्देहीमा एक्लै चुनाव लड्ने तयारी थाल्न नेताकार्यकर्तालाई निर्देशन दिएका हुन् ।
“पछिल्लो समय म विभिन्न कार्यक्रममा बाहिर जाँदा कांग्रेस एमालेका नेताहरूले मलाई भेट्दा यो परिर्वतन माओवादीले ल्याएको हो । त्यसको रक्षा पनि माओवादीले नै गर्नुपर्छ भन्नुभएको छ ।मैले यो कुरा मलाई किन भन्नुहुन्छ ? यो जनतालाई भन्नुहोस् न भन्ने गरेको छु,” उनले भने, “त्यसैले कमरेडहरू माओवादीले यो परिवर्तनको आन्दोलनमा खेलेको भूमिका कसैले नकार्न सक्दैन । बाहिर प्रचार प्रसार त हामीले गर्नुपर्यो नि, रूपन्देहीमा हामीले पहिलाभन्दा राम्रो परिणाम ल्याउँछौँ, ल्याउँछौँ । एक्लै लड्ने हो, तपाईंहरू त्यसको तयारी गर्नुहोस् ।”
प्रचण्डले पार्टीभित्र देखिएको असन्तुष्टि र बहसलाई वर्गसंर्घषको स्वाभाविक स्वरुप भएको बताए । उनले ऐतिहासिक दृष्टान्त दिँदै भने, “असन्तुष्टि जहाँ गयो त्यही हुन्छ, विश्वको क्रान्तिकारी आन्दोलनमा पनि यस्तै देखिन्छ ।”
उनले माओत्से तुङ, ल्यू साओची र लिनप्याओबीचको ऐतिहासिक सम्बन्धलाई उल्लेख गर्दै विश्वासघात र नेतृत्वप्रतिको आस्था परीक्षणको दिष्टान्त पार्टीका नेताकार्यकर्ताहरु समक्ष राखे ।
जनयुद्ध, शान्ति प्रक्रिया र गणतन्त्र स्थापनाको नेतृत्व इतिहासले आफूलाई सुम्पिएको उल्लेख गर्दै उनले जनयुद्ध र परिर्वतनका आन्दोलनका अभिलेख व्यवस्थित गर्न माओवादी केन्द्रले अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।