site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हमासको सशस्त्र समूहका प्रवक्ता मारिएको इजरायलको दाबी

काठमाडौं । इजरायलले गाजामा हमासको सशस्त्र समूहका प्रवक्ता अबु उबेइदा मारिएको दाबी गरेको छ । इजरायलका रक्षामन्त्री इजराइल काट्जले आइतबार गत हप्ताको अन्त्यमा उबेइदालाई निसाना बनाएर गरिएको आक्रमणमा उनी मारिएको बताएका छन् । तर, हमासले इजरायलको दाबीको आधिकारिक पुष्टि गरेको छैन ।

तर, प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अबु उबेइदामाथि हमला गरिएको तर उनी मारिए वा मारिएनन् भन्ने कुरा स्पष्ट नभएको बताएका छन् । उनले मन्त्रिपरिषद्को बैठकमा यस विषयमा हमासबाट कुनै प्रतिक्रिया नआएको जानकारी दिएका समाचारमा उल्लेख छ । 

उबेइदा लामो समयदेखि हमासको सैन्य एकाइ कसाम ब्रिगेडको ‘फ्रन्ट’मा रहँदै आएका थिए । उनीमाथि पहिले पनि थुप्रै पटक कारबाही गरिएको बताइएको छ ।

इजरायलले गाजा सहरलाई युद्ध क्षेत्र घोषणा गर्दै सैन्य अभियानको नयाँ चरण सुरु गरेको जवाफमा उबेइदाको अन्तिम वक्तव्य शुक्रबार आएको थियो । 

यसैबीच, स्थानीय अस्पतालहरूले शनिबारदेखि हालसम्म गाजा सहरमा कम्तीमा ४३ प्यालेस्टिनी मारिएको बताएका छन् । शिफा अस्पतालले शवगृहमा २९ शव ल्याइएको र तीमध्ये १० जना सहायता लिन खोज्दा मारिएको बताएको छ ।
 
आइतबार बिहान अस्पतालहरूले थप ११ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । अल–अवदा अस्पतालले यीमध्ये सातजना नागरिक रहेको र उनीहरू पनि सहायता खोज्ने क्रममा मारिएको जानकारी दिएको छ ।

प्रत्यक्षदर्शीहरूले इजरायली सैनिकहरूले नेत्जारिम कोरिडोरमा भीडमाथि गोली चलाएको बताएका छन् । यो क्षेत्र इजरायली सेनाको नियन्त्रणमा छ र यसले गाजालाई बीचबाट विभाजन गर्छ । 

यसैबीच, संयुक्त राष्ट्रसंघका अनुसार अगस्ट १ देखि हालसम्म करिब ६५ हजार मानिसहरूले आफ्नो घर छोडेर अन्यत्र गएका छन् । पछिल्लो हप्ता मात्र २३ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । 

गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा कुपोषण र भोकमरीका कारण सात वयस्कको मृत्यु भएको बताएको छ । मन्त्रालयका अनुसार जुन महिनादेखि हालसम्म भोकमरीका कारण कुल २१५ वयस्कको मृत्यु भएको छ । अक्टोबर २०२३ देखि अहिलेसम्म १२४ बालबालिकाको मृत्यु पनि यही कारणले भएको बताइछ ।

गाजामा युद्ध सुरु भएदेखि हालसम्म कम्तीमा ६३ हजार ३७१ प्यालेस्टिनी मारिएका छन् । यीमध्ये आधाभन्दा बढी महिला र बालबालिका छन् । पीबीएस

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  ०८:०५
प्रतिक्रिया दिनुहोस्