काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानमाथि अमेरिकी चामलका लागि बजार खुला गर्न दबाब दिएपछि जापानका मुख्य वार्ताकार रयोसेई अकाजावाले अमेरिकाको भ्रमण रद्द गरेका छन् ।
अकाजावा अगस्ट २८ मा वाशिंगटन डीसीको भ्रमणमा जाने तयारीमा भए पनि ट्रम्पले अमेरिकी चामल किन्न दबाब दिएपछि उनले यो यात्रा रद्द गर्नुपरेको निक्केई एसियाले उल्लेख गरेको छ ।
निक्केई एसियाका अनुसार, अकाजावा आफ्नो भ्रमणबाट जापानका उत्पादनहरूमाथिको ट्यारिफ घट्ने लिखित वाचा अमेरिकाबाट लिन चाहन्थे । तर, त्यस्तो सम्भावना नदेखिएपछि उनले यात्रा रद्द गरे ।
जापानमाथि दबाब दिएर पहिले ट्यारिफ कम गराएका ट्रम्पले त्यसपछि कृषि उत्पादनको आयात बढाउने सर्त राखेको सरकारी अधिकारीहरूले निक्केई एसियालाई बताएका थिए ।
यसको बदलामा जापानले अमेरिकाले अटोमोबाइलमाथिको ट्यारिफ कम गर्ने अपेक्षा गरे पनि ट्रम्पबाट यस सम्बन्धमा कुनै ठोस आश्वासन नमिलेको बताइएको छ ।
अमेरिकाको यो व्यवहार उसको घरेलु नीतिहरूमाथिको हस्तक्षेप भएको जापानको भनाइ छ । अकाजावाले पत्रकार सम्मेलनमा भने, “अहिले पनि धेरै यस्ता मुद्दाहरू छन् जसमा थप कुराकानी आवश्यक छ ।”
उनले वार्ता अगाडि बढिरहेकोले अहिलेका लागि अमेरिकाको यात्रा स्थगित गरे पनि भविष्यमा फेरि जान सकिने सम्भावना रहेको बताए ।
रिपोर्टअनुसार, यदि जापानले अमेरिकाबाट चामलको खरिद बढाएमा त्यसले उसको आफ्ना किसानहरूलाई नोक्सान पुर्याउन सक्छ । यसबाट कृषक रुष्ट हुन सक्छन् ।
यसैबीच, ह्वाइट हाउसले जापान जुलाईमै अमेरिकी चामलको आयात कोटामा ७५ प्रतिशत वृद्धि गर्न सहमत भएको दाबी गरेको थियो । पछि, जापानका प्रधानमन्त्री सिगेरु इसिबाले आफ्नो देशले अमेरिकी दबाबमा आफ्ना किसानहरूको अहितमा सम्झौता नगर्ने स्पष्ट पारेका थिए ।
जापान र अमेरिकाबीचको वार्ताको मुख्य समस्या एक–अर्कालाई विश्वास नगर्नु रहेको विज्ञहरूको भनाइ छ । अमेरिकाले जापानले आफ्नो ५५० अर्ब डलरको लगानीको वाचालाई लिखित सम्झौतामा बदलोस् भन्ने चाहेको बताइएको छ ।
अर्कोतर्फ, जापानले उसलाई लिखित ग्यारेन्टी चाहिन्छ भने अमेरिकाले पनि जापानी गाडीहरूमा १५ प्रतिशत ट्यारिफ तुरुन्तै लागु नहुने लिखित रूपमा दिनुपर्ने भनिरहेको बताइएको छ ।
तथ्यांकअनुसार, अमेरिकाले सन् २०२४ मा जापानबाट लगभग १४८ अर्ब डलरको आयात गरेको थियो । सोही अवधिमा जापानले अमेरिकामा ८० अर्ब डलरको मात्र निर्यात गरेको थियो ।
जापानको सबैभन्दा ठूलो निर्यात क्षेत्र कार र अटो पार्टस हो, जसले अमेरिकी अटोमोबाइल बजारको लगभग एक तिहाइ हिस्सा ओगटेको छ । यसका अलावा इलेक्ट्रोनिक्स, मेसिनरी र उन्नत प्रविधिसँग सम्बन्धित उत्पादनहरू पनि जापानी निर्यातका महत्वपूर्ण हिस्सा हुन् ।
जापानको अर्थव्यवस्था धेरै कुरामा अमेरिकामा निर्भर छ । प्रधानमन्त्री इसिबाले यसलाई ‘राष्ट्रिय संकट’ बताइसकेका छन् । जापानले अमेरिकामाथिको निर्भरता कम गर्ने बताए पनि सैन्य गठबन्धनका कारण उसले बाध्य भएर वार्ता गरिरहेको छ । रोयटर्स