site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांघाई संगठनको संयुक्त विज्ञप्ति : भारत र पाकिस्तानमा आतंकवादी आक्रमणको निन्दा

काठमाडौं । सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भारतको पहलगाममा आतंकवादी आक्रमणको निन्दा गरिएको छ । एससीओको संयुक्त विज्ञप्तिमा सदस्य देशले पहलगाममा आतंकवादी आक्रमणको कडा निन्दा गरेको उल्लेख छ ।

“सदस्य देशहरूले सबै प्रकारका आतंकवादको कडा निन्दा गरेका छन् । उनीहरूले आतंकवादविरुद्धको लडाइँमा दोहोरो मापदण्ड अस्वीकार्य रहेकामा जोड दिए र अन्तर्राष्ट्रिय समुदायलाई संयुक्त राष्ट्रसंघको केन्द्रीय भूमिकामा आतंकवादविरुद्ध काम गर्न अपील गरे,” विज्ञप्तिमा भनिएको छ ।

सदस्य देशले अन्तर्राष्ट्रिय आतंकवादसम्बन्धी महासन्धि सर्वसम्मतिले अपनाउनुपर्ने जोड दिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “सदस्य देशहरूले २२ अप्रिल २०२५ मा पहलगाममा भएको आतंकवादी आक्रमणको कडा निन्दा गरेका छन् ।”

पाकिस्तानमा जाफर एक्सप्रेस रेलमा भएको आतंकवादी आक्रमणको पनि निन्दा गरिएको छ । “सदस्य राष्ट्रहरूले मार्च ११ मा जाफर एक्सप्रेस र मे २१, २०२५ मा खुजदारमा भएको आतंकवादी हमलाको पनि कडा निन्दा गरेका छन् । उनीहरूले यस्ता हमलाका दोषीलाई न्यायको कठघरामा ल्याउनुपर्ने पनि बताएका छन्,” संयुक्त विज्ञप्तिमा भनिएको छ ।

सदस्य राष्ट्रले आतंकवाद, पृथकतावाद र अतिवादविरुद्ध आफ्नो दृढ प्रतिबद्धता दोहोर्‍याएका छन् । उनीहरूले त्यस्ता समूहलाई आफ्नो फाइदाका निम्ति प्रयोग गर्नु अस्वीकार्य रहेको स्पष्ट पारेका छन् । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १३:५१
प्रतिक्रिया दिनुहोस्