रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी)बाट उमेदवारका निम्ति सातजनाको नाम सिफारिस गरिएको छ । भैरहवामा बसेको पार्टीको जिल्ला कमिटी बैठकबाट महासचिव एवं पूर्वकृषिमन्त्री घनश्याम भुसालसहित सातजनाको नाम सिफारिस गरिएको हो ।
भुसाल यही क्षेत्रमा ०७४ सालमा नेकपा (एमाले)बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, जिल्ला अध्यक्ष हीराध्वज शाह, प्रदेश कमिटी सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही–१ का सहइन्चार्ज विजयलक्ष्मी रायको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ ।
उमेदवार छनोट गर्न गठित कार्यदलले अब एक महिलासहित तीनजनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गर्नेछ । केन्द्रीय उपमहासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज मेटमणि चौधरी, केन्द्रीय सचिव एवं प्रदेश सहइन्चार्ज सोमप्रसाद पाण्डे, प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँ, रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडे र रुपन्देही अध्यक्ष हीराध्वज शाह सदस्य रहेको कार्यदलले तीनजनाको नाम पठाउनेछ ।
कार्यदलले सातै आकांक्षीसँग छलफल र चुनावी रणनीति बुझेपछि मात्र तीनजनाको नाम सिफारिस गर्ने उपमहासचिव चौधरीले जानकारी दिए । रुपन्देही–३ मा आउँदो कात्तिक १७ गते उपनिर्वाचन हुँदै छ । रासस