site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तीन तहबीचको सहकार्यबाट मात्र संघीयता सफल हुन्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध बलियो भए मात्र मुलुक विकास र समृद्धिको दिशामा अघि बढ्न सक्ने बताएका छन् ।

सोमबार (भदौ १६) सुर्खेतमा आयोजित एक कार्यक्रममा उनले संघीयता कार्यान्वयनको सार्थकता निश्चित गर्न तीनै तहबीचको सहकार्य र समन्वय अनिवार्य रहेकामा जोड दिए ।

“संघ र प्रदेशले नीति तथा योजना बनाउने भए पनि कार्यान्वयनको वास्तविक स्थान स्थानीय तह हो । त्यसैले समन्वयलाई प्राथमिकतामा राख्नुपर्छ,” मुख्यमन्त्री कँडेलले भने, “स्थानीय सरकारलाई जिम्मेवार, सक्षम र प्रभावकारी बनाउन प्रदेश सरकारले सुरु गरेको ‘योजना बैंक’लाई स्थानीय तहहरूले अनुसरण गर्नुपर्छ ।”

विगतको तजबिजी प्रवृत्तिबाट सिकेर योजनाको छनोट प्रणाली सुधार्दै जानुपर्ने उनले बताए । सीमित साधनस्रोतको सही सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो ।

कर्मचारी प्रशासनतर्फ संकेत गर्दै उनले समस्या समाधानका व्यावहारिक उपाय खोज्नुपर्ने बताए । उनले विधि, प्रक्रिया र कानुनको पालना गर्नु सबैको कर्तव्य भएको उल्लेख गरे । काम गर्दा विभेद नगर्न पनि उनले सबैलाई आग्रह गरे ।

संघीय व्यवस्था प्रभावकारी बनाउन कानुनी स्पष्टता र प्रक्रियागत पारदर्शिता अनिवार्य हुने उनले बताए । उनले अबको मार्गदर्शन प्रस्ट र जिम्मेवारीपूर्ण हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्