site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पका सल्लाहकारको निसानामा भारतका ‘ब्राह्मण’– रुसी तेलबाट नाफा कमाइरहेका छन्
डोनाल्ड ट्रम्पका साथ पिटर नभारो ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले भारतले रुसी तेल खरिद गरेको विषयमा फेरि विवादस्पद अभिव्यक्ति दिएका छन् । नभारोले ‘ब्राह्मण’ले भारतीय जनताको खर्चमा नाफा कमाइरहेका र यसलाई ‘रोक्न’ आवश्यक रहेको बताएका हुन् ।

आइतबार नभारोले फक्स न्युजलाई दिएको अन्तर्वार्तामा भनेका छन्, “प्रधानमन्त्री मोदी एक महान् नेता हुनुहुन्छ । भारतीय नेताहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङलाई कसरी सहयोग गरिरहेका छन् भन्ने कुरा बुझ्न सकिँदैन ? जबकि, भारत विश्वको सबैभन्दा ठूलो लोकतन्त्र हो ।”

नभारोले आगडि भनेका छन्, “त्यसैले म भन्छु– भारतीय जनता, कृपया यहाँ के भइरहेको छ भनेर बुझ्नुहोस् । ब्राह्मणहरूले भारतीय जनताको खर्चमा नाफा कमाइरहेका छन् । हामीले यसलाई रोक्नुपर्छ ।”

ट्रम्पको व्यापार र भन्सार नीतिका विषयमा अमेरिका र भारतबीचको सम्बन्धमा दरार उत्पन्न भएको छ । यही बेला नभारोले केही दिनयता भारतलाई निरन्तर निसाना बनाइरहेका छन् ।

ट्रम्पले भारतमाथि २५ प्रतिशत पारस्परिक कर लगाएका थिए । पछि भारतले रुसी तेल खरिद गरेको भन्दै २५ प्रतिशत कर थपिएको थियो ।

भारतले यसलाई ‘अनुचित र अव्यावहारिक’ भनेको छ । भारतले ‘जहाँबाट सस्तो तेल प्राप्त हुन्छ, त्यहाँबाट किन्न जारी राख्ने’ प्रतिक्रिया दिएको छ ।

‘के पुटिनलाई भारतमाथि मात्र थप कर लगाएर नियन्त्रणमा लिन खोजिएको हो ?’ भन्ने प्रश्नको जवाफमा नाभारोले भने, “ठिक छ, एउटा कुरा स्पष्ट छ कि भारतमा हाल ५० प्रतिशत कर छ, तर चीनमा पनि ५० प्रतिशतभन्दा अलि बढी कर छ । त्यसैले प्रश्न यो हो कि हामी आफूलाई हानि नगरी यसलाई कति बढाउन चाहन्छौँ ?”

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गर्नुअघि भारतले रुसी तेल नकिनेको नाभारोले बताए । “ठिक छ, रुसी रिफाइनरीहरूले भारत प्रवेश गरे र ठूला तेल कम्पनीहरूसँग गठबन्धन बनाए । पुटिनले मोदीलाई कच्चा तेलमा छुट दिन्छन् । तिनीहरूले यसलाई प्रशोधन गर्छन् र युरोप, अफ्रिका र एसियामा ठूलो प्रिमियममा पठाउँछन् र धेरै पैसा कमाउँछन्,” नाभारोले भने, “त्यसो भए यसमा के गलत छ ? वास्तवमा यसले ‘रुसी युद्ध मेसिन’लाई बलियो बनाउँछ ।”

भारतले रुसबाट कच्चा तेल खरिदको बचाउ गर्दै आएको छ । भारतले आफ्नो ऊर्जा खरिद राष्ट्रिय हितबाट प्रेरित भएको जनाएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिमा देशले रुसी कच्चा तेलमा प्रतिबन्ध लगाएका थिए । त्यस बेलादेखि रुस भारतको शीर्ष ऊर्जा आपूर्तिकर्ताका रूपमा देखापरेको नाभारोको भनाइ थियो ।

“यसले युक्रेनका जनतालाई हानि पुर्‍याउँछ । करदाताका रूपमा हामीले के गर्नुपर्छ भने हामीले उनीहरूलाई थप पैसा पठाउनुपर्छ, ताकि युक्रेनले आफ्नो रक्षा गर्न सकोस्,” नाभारोले भने । यसैकारण भारतलाई थप २५ प्रतिशत कर लगाइएको उनले जिकिर गरे ।

नाभारोले यसअघि रुस–युक्रेन युद्धका विषयमा भारत र प्रधानमन्त्री मोदीको आलोचना गरेका थिए । उनले युक्रेन द्वन्द्वलाई ‘मोदीको युद्ध’ भनेर वर्णन गरेका थिए ।

“भारतले गरिरहेको कामका कारण अमेरिकामा सबैले दुःख भोगिरहेका छन् । उपभोक्ता र व्यवसाय सबै घाटामा छन् र कामदारले पनि दुःख भोगिरहेका छन्, किनभने भारतको उच्च भन्सारले हाम्रो जागिर, कारखाना, आम्दानी र राम्रो ज्यालाको अवसर घटाउँछ । अनि, त्यसपछि करदाताले पनि दुःख पाउँछन्, किनभने हामीले ‘मोदीको युद्ध’का निम्ति पैसा तिर्नुपर्छ,” उनले केही दिनअघि भनेका थिए । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्