site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रुपन्देही–३ उपनिर्वाचन : माओवादीकाे क्षेत्रीयस्तरको बैठकबाट चारजनाको नाम सिफारिस

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले रुपन्देही–३ को उपनिर्वाचनका लागि चारजनाको नाम सिफारिस गरेको छ । रुपन्देही माओवादी जिल्ला इन्चार्ज सोनिया यादवले क्षेत्रीयस्तरको बैठकले चारजनाको नाम सिफारिस गरेको जानकारी दिइन् ।  

“एकजना त म आफैँ परेकी छु । अन्य तीनजनामा तीरबहादुर रोक्कामगर, फैद अहमद खान र मनिस जोशीको नाम क्षेत्रको बैठकले सिफारिस गरेको छ,” उनले भनिन् ।

क्षेत्र र पालिकास्तरको बैठक बसेर चुनावको तयारीका विषयमा निर्णय गरिसकेको र अब चुनावको विषय वडासम्म लैजाने उनले बताइन् । वडाको बैठकपछि मात्र उमेदवारको टुंगो लाग्ने पनि उनले सुनाइन् ।  

उनले भनिन्, “क्षेत्रको बैठकले केही निर्णय गरेको छ । उक्त निर्णयअनुसार उपनिर्वाचनको गतिविधि अघि बढाउने तयारी छ । हामीले दुईपटकसम्म आफ्नो चुनाव चिह्नमा भोट हाल्न पाएका छैनौँ । पार्र्टीको चुनाव चिह्न गुमेको महसुस भएको छ । बाहिरबाट उमेदवार नबोलाउने र आफ्नै चुनाव चिह्नमा लड्ने तयारी भएको छ ।” 

उपनिर्वाचनका लागि एकल उमेदवारी दिने पनि माओवादी केन्द्रको तयारी छ । 

चारजनाको नाम सिफारिस गरेको रहेछ, अब कसरी अघि बढ्नुहुन्छ भन्ने बाह्रखरीको जिज्ञासामा उनले भनिन्, “चारजनामा जो आए पनि हामी एउटै क्षेत्रका हौँ, त्यसमा कसैको आपत्ति  हुँदैन ।” 

चार उमेदवारमा सोनिया शुद्धोदन गाउँपालिका र अन्य तीनजना सिद्धार्थ नगरपालिकाका हुन् । उपनिर्वाचनमा माओवादी केन्द्रले जित निकाल्ने दाबी समेत उनको छ । 

सत्तारूढ दल नेपाली कांग्रेस र एमालेको अहिलेको गतिविधिले जनता रुष्ट भएको र राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको उमेदवार पनि विवादित रहेकाले माओवादी केन्द्रको जित सुनिश्चित रहेको उनको भनाइ छ ।  

सरकारमा रहँदा माओवादी केन्द्रले गरेका कामले पनि जनताले आफ्नो पार्र्टीको उमेदवारलाई भोट दिने उनले बताइन् ।  अहिलेकै अवस्थामा जनताको मनस्थिति  आकलन गर्र्न  नसकिने उनको भनाइ छ । 

उनले भनिन्, “जनता सँगसँगै फिल्डमा लागेका छौँ । जनता कता मोडिन्छन् यसै भन्ने अवस्था छैन । जनताको मन जसले जित्छ चुनाव पनि उसैले जित्छ ।”

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि एक्लै लड्ने तयारी थाल्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १८:०१
प्रतिक्रिया दिनुहोस्