काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सीमा समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल लिनुपर्ने बताएका छन् । सोमबार साँझ सम्पन्न एसिया प्रदेश संगठन समितिको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
उनले आफ्नो प्रधानमन्त्रीत्वकालमा भारत भ्रमणका क्रममा लिपुलेक र कालापानीको विषयमा भारतीय प्रधानमन्त्रीसँग संवाद गरेर सार्वजनिक घोषणा गराएको स्मरण गराए । “सीमा समस्या कूटनीतिक पहलबाटै समाधान गर्नुपर्छ भन्नेमा माओवादी केन्द्र स्पष्ट छ,” उनले भने ।
राष्ट्रियताको बारेमा, नेपालको सिमाना र लिपुलेकका बारेमा आफू पछिल्लो पटक प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जाँदा, कालापानी र लिपुलेकको विषयमा गम्भीर ढंगले कुरा उठाएको बताए ।
“कामरेडहरूलाई यो पनि थाहा हुनुपर्छ । राष्ट्रियताको बारेमा, नेपालको सिमाना र लिपुलेकका बारेमा म पछिल्लो पटक प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जाँदा, कालापानी र लिपुलेकको विषयमा गम्भीर ढंगले कुरा गरी, इतिहासमा पहिलो पटक मेरो नेतृत्वमा रहेको सरकारले नै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल–भारतको सीमा समस्या संवादबाट समाधान गरिन्छ भनेर सार्वजनिक घोषणा गर्न लगाएको हो । मैले मिहिनेत गरेर समाधान गर्नुपर्छ भन्नेमा पुर्याएका थियौँ । अहिलेको सरकारले कूटनीतिक पहलबाट सीमा समस्या समाधान गर्न पहल लिनुपर्छ भन्नेमा माओवादी केन्द्र स्पष्ट छ,” उनले भने ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रवासी क्षेत्रमा क्रियाशील नेताकार्यकतालाई पार्टीको मूलधारमा ल्याउन विशेष प्रयास थालिएको जानकारी दिए ।