काठमाडौं । विश्वका प्रमुख नरसंहार विज्ञहरूको संगठनले इजरायलले गाजामा नरसंहार गरिरहेको घोषणा गरेको छ ।
इन्टरनेसनल एसोसिएसन अफ जेनोसाइड स्कोलार्सद्वारा पारित एक प्रस्तावमा इजरायलले गरिरहेको कार्य संयुक्त राष्ट्रसंघको नरसंहार सम्बन्धी महासन्धिमा परिभाषित कानुनी मापदण्डहरूसँग मेल खाने बताइएको छ ।
तीन पृष्ठको उक्त प्रस्तावमा इन्टरनेसलन एसोसिएसन अफ जेनोसाइड स्कोलार्सले २२ महिना लामो युद्धको अवधिमा इजरायलद्वारा गरिएका कार्यहरूको सूची प्रस्तुत गरेको छ, जसलाई यसले नरसंहार, युद्ध अपराध र मानवताविरुद्धको अपराधअन्तर्गत राखेको छ ।
जेनोसाइड स्कोलार्स नरसंहार विद्वानहरूको विश्वको सबैभन्दा ठूलो व्यावसायिक संगठन हो, जसमा युरोपियन यहुदी नरसंहार (होलोकास्ट)का धेरै विशेषज्ञहरू पनि छन् । यसका ५०० सदस्यमध्ये २८ प्रतिशतले मतदानमा भाग लिएका थिए र मतदान गर्नेमध्ये ८६ प्रतिशतले प्रस्तावको समर्थन गरेका थिए ।
इजरायली नीति र कार्यहरूको शीर्षकमा घोषणापत्रले स्वास्थ्य सेवा, सहायता र शिक्षा क्षेत्रलगायत जीवन रक्षाका लागि आवश्यक कर्मचारी र सुविधाहरूमाथि व्यापक आक्रमण भएको उल्लेख गरेको छ ।
यसले अन्य धेरै विषयहरूसँगै संयुक्त राष्ट्रसंघको सहायता संगठन युनिसेफले बताएअनुसार इजरायलले ५० हजार बालबालिकाको ज्यान लिएको वा घाइते बनाएको उल्लेख गरेको छ । यसले गाजामा प्यालेस्टिनीहरूलाई जीवित रहने र पुनरुत्थान गर्ने क्षमतामा असर पारेको छ ।
संस्थाले गाजामा प्यालेस्टिनीहरूलाई अमानवीय व्यवहार गर्ने, उनीहरूलाई सबै शत्रुको रूपमा चित्रण गर्ने, गाजालाई ध्वस्त पार्नेजस्ता भनाइ इजरायली नेताहरूले बोलेको उल्लेख गरेको छ ।
इजरायली विदेश मन्त्रालयले यो रिपोर्ट हमासका झूट र कमजोर अनुसन्धानमा आधारित भएको भन्दै त्यसलाई कानुनी पेसाका लागि लज्जास्पद भनेको छ । नरसंहारको शिकार इजरायल आफैँ भएको बताएको छ ।
इजरायलले गाजामा आफ्ना कार्यहरू नरसंहार भएको कुरालाई निरन्तर अस्वीकार गर्दै आएको छ ।
संस्थाका विद्वानहरूले लगभग १२ सय मानिस मारिएका र २५१ जनालाई बन्धक बनाइएको ७ अक्टोबर २०२३ को हमास आक्रमण अपराध भए पनि इजरायलको प्रतिक्रिया हमासविरुद्ध मात्र नभई गाजाको सम्पूर्ण जनसंख्यालाई लक्षित गरिएको बताएका छन् । बीबीसी