बुटवल । नेपाली कांग्रेस कपिलवस्तुमा विक्रमसिंह थापामाथि कारबाहीको विषयलाई लिएर लफडा सुरु भएको छ । थापानिकट कार्यकर्ताहरूले नेपाली कांग्रेस कपिलवस्तु कार्यालयमा तोडफोड र तालाबन्दी गरेका हुन् ।
०७९ सालको निर्वाचनमा प्रदेशसभा सदस्यमा थोरै मतले पराजित थापालाई लुम्बिनी प्रदेश कमिटीले कारबाही गर्दै सदस्यबाट पदमुक्त गरेको छ । उनका पक्षधर कार्यकर्ताले तौलिहवास्थित पार्टी कार्यालयमा तोडफोड गरेका हुन् ।थापा शेखर कोइरालानिकट मानिन्छन् ।
जिल्ला नेता अनुपकुमार पाण्डेयको नेतृत्वमा पुगेको करिब ४० जनाको समूहले कार्यालयभित्रका कुर्सी तोडफोड गर्दै मूल गेटमा तालाबन्दी गरेको जनाइएको छ । पार्टी जिल्ला सचिव प्रेम रायमाझीका अनुसार कार्यालयभित्रका १३ वटा कुर्सी तोडफोड भएको छ ।
थापालाई साउन ११ गते कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले कारबाहीको पत्र पठाए पनि भदौ १५ गते मात्र उक्त पत्र सार्वजनिक भएको थियो ।
पत्र सार्वजनिक भएलगत्तै कांग्रेस नेता दीपकुमार उपाध्याय र उनका छोरा आशिष शर्माले सामाजिक सञ्जालमार्फत थापामाथिको कारबाही ‘प्रतिशोधपूर्ण’ रहेको बताउँदै कडा आपत्ति जनाएका छन् । केही समययता थापा जिल्ला अध्यक्ष अब्दुल कलाम र प्रदेश अध्यक्ष पुनसँग असन्तुष्ट हुँदै आएका छन् ।