site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मृतकको संख्या १४ सय नाघ्यो, दोस्रो भूकम्पले थप क्षति

काठमाडौं । अफगानिस्तानमा भूकम्पका कारण १४०० भन्दा बढी मानिसको मृत्यु भएको छ । हजारौँ घाइते भएका छन् । 

आइतबार ६.० म्याग्निच्युडको भूकम्पले पाकिस्तानसँग सीमा जोडिएको अफगानिस्तानको पूर्वी कुनार प्रान्तका सम्पूर्ण गाउँहरू ध्वस्त पारेपछि उद्धारकर्मीहरूले रातभरि पनि जीवित मानिसहरूको खोजी गरिरहेका छन् । तालिवानले अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गरेको छ ।

भिरालो उपत्यकाहरूमा माटो र ढुंगाले बनेका घरहरूको भग्नावशेषमुनि धेरै मानिस फसेका थिए । तर, कठिन पहाडी भूभाग र प्रतिकूल मौसमका कारण उद्धारकर्मीहरूलाई दुर्गम क्षेत्रहरूमा पुग्न कठिनाइ भएको थियो । यो भूकम्प पृथ्वीको सतहबाट केवल ६ माइल तल गएको थियो, जसलाई विशेष गरी विनाशकारी मानिन्छ ।

मंगलबार ५.५ म्याग्निच्युडको दोस्रो भूकम्पले पनि दक्षिण–पूर्वी अफगानिस्तानलाई हल्लायो, जसले थप क्षति पुर्‍याएको छ । 

तालिवान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले मंगलबार दोस्रो भूकम्प आउनुअघि नै मृतकको संख्या १४ सय ११ नाघिसकेको बताए । तीन हजारभन्दा बढी मानिस घाइते भएको जानकारी दिए । 

अधिकारीहरूले पहिलो भूकम्प गएको २४ घण्टाभन्दा बढी समयसम्म पनि उद्धार टोलीहरू नपुगेका एकान्त स्थानहरूमा पुगेपछि हताहतीको संख्या अझै बढ्ने आशंका गरेका छन् ।

काबुलको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानले विनाशलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गरेका छन् । द गार्जियन

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  ०८:४७
प्रतिक्रिया दिनुहोस्