काठमाडौं । सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जीएसआई)मा नेपालले कुनै किसिमको सहमति नगरेको स्पष्ट गरेको छ ।
चीनको थियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यही भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्तामा जीएसआईमा ‘नेपालले सहमति जनाएको’ भनेर सार्वजनिक भएका समाचार आधारहीन भएकाले भ्रममा नपर्न सरकारले आग्रह गरेको छ ।
परराष्ट्र सचिव अमृतबहादुर राईले भने, “मुलुकले अंगीकार गरेको असंलग्न परराष्ट्रनीतिप्रति सरकार पूर्ण प्रतिबद्ध छ, परराष्ट्र सम्बन्धलगायत संवेदनशील विषयमा वास्तविकता नबुझी टीकाटिप्पण नगर्न सम्बद्ध सबैमा मेरो आग्रह छ ।”
प्रधानमन्त्री ओली र राष्ट्रपति सी नेतृत्वको वार्तामा सहभागी परराष्ट्र सचिव राईले ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स’लगायत द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा दुवै नेताबीच छलफल भएको बताए । रासस