काठमाडौं । गाजा युद्ध विस्तार गर्ने योजनालाई लिएर इजरायलको सैन्य र राजनीतिक नेतृत्वबीचको तनाव पछिल्लो हप्ता तीव्ररूपमा बढेको छ । सैन्य प्रमुखले हालैको बैठकमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग सिधै चुनौती दिएको दुई इजरायली अधिकारीहरूले सीएनएनलाई बताएका छन् ।
इजरायल रक्षा बल (आईडीएफ)का चिफ अफ स्टाफ आयल जमिरले दुई वर्षको लडाइँपछि गाजा सहर कब्जा गर्ने निर्णयमा बारम्बार आफ्नो आपत्ति जनाए पनि दशौँ हजार इजरायली रिजर्भेस्टहरू यो विशाल कारबाहीको तयारीका लागि सेवामा फर्किन थालेका बताइएको छ ।
ती इजरायली अधिकारीहरूका अनुसार, गाजा सहरमा कारबाहीबारे हालैका दुई सुरक्षा मन्त्रिपरिषद्का बैठकमा आईडीएफका चिफ अफ स्टाफ जमिरले आक्रमण गर्ने निर्णयमाथि प्रश्न उठाए । उनले गाजामा बाँकी रहेका ४८ इजरायली बन्धक र युद्धमैदानमा रहेका सैनिकहरूका लागि सम्भावित जोखिमहरूमा ध्यान केन्द्रित गर्दै उनले यस प्रक्रियामा १० लाख प्यालेस्टिनीहरूको विस्थापन र यसका सम्भावित मानवीय र रणनीतिक प्रभावहरूबारे पनि आपत्ति जनाए ।
अधिकारीहरूले सीएनएनलाई बताएअनुसार, आइतबार साँझको सबैभन्दा पछिल्लो सुरक्षा मन्त्रिपरिषद्को बैठकमा जमिरले मन्त्रीहरूलाई इजिप्ट र कतारी मध्यस्थकर्ताहरूले अघि सारेको र हमासले स्वीकार गरेको पछिल्लो युद्धविराम प्रस्तावमा विचार गर्न फेरि आग्रह गरको बताइएको छ ।
“टेबुलमा एक प्रस्ताव छ र हामीले त्यसलाई स्वीकार्नुपर्छ,” आईडीएफका चिफ अफ स्टाफले भने । नेतान्याहुले उक्त प्रस्तावलाई उठाउन वा मन्त्रिपरिषद्को एजेन्डामा राख्न नचाहेपनि जमिरले आफ्नो कुरा राख्न जोड दिएका थिए ।
ती अधिकारीहरूले सीएनएनलाई बताएअनुसार, आईडीएफका प्रमुखले गाजा सहर कब्जा गर्ने निर्णयले अन्ततः गाजामा पूर्ण इजरायली सैन्य कब्जा निम्त्याउने र इजरायलले सम्पूर्ण जनसंख्याका लागि पूर्ण जिम्मेवारी वहन गर्नुपर्ने चेतावनी पनि दिएको उनको भनाइ इजरायली सञ्चारमाध्यमहरूमा लिक भएको थियो र सीएनएनले पनि पुष्टि गरेको थियो ।
आईडीएफका प्रवक्ताले जमिरलाई दिइएको भनाइमा टिप्पणी गर्न अस्वीकार गरे । सीएनएनले टिप्पणीका लागि इजरायलका प्रधानमन्त्रीको कार्यालयसँग सम्पर्क गरेको छ ।
बनाना रिपब्लिकजस्तै सैन्य विद्रोह
जमिरको आपत्तिलाई नेतान्याहुले बेवास्ता गर्दै आंशिक युद्धविराम सम्झौतामा छलफल गर्न अस्वीकार गरेका थिए । नेतान्याहुले यसको सट्टा सबै बन्धकहरूलाई एकैचोटि रिहा गर्ने एक व्यापक सम्झौतामा जोड दिएका छन् ।
नेतान्याहुको लिकुड पार्टीका सदस्यहरू सहित थोरै संख्याका मन्त्रीहरूले मात्र जमिरको अडानलाई समर्थन गरको बताइएको छ । अर्कोतर्फ, प्रधानमन्त्रीका अति–दक्षिणपन्थी राजनीतिक सहयोगीहरूले आईडीएफका प्रमुखलाई हमासमाथि विजय प्राप्त गर्न रोक्ने कमजोर र पराजयवादी दृष्टिकोण अपनाएको आरोप लगाएको ती अधिकारीहरूले बताएको सीएनएनलृ जनाएको छ ।
गाजा युद्ध विस्तारको उनको विरोधबारे रिपोर्टहरू सार्वजनिक भएपछि हालैका हप्ताहरूमा जमिर र सरकारबीचको असहमति गहिरिएको हो ।
अगस्टको सुरुमा, प्रधानमन्त्रीका छोरा यायर नेतान्याहुले सामाजिक सञ्जालमा आईडीएफका प्रमुखलाई सन् १९७० को दशकका केरा गणराज्यहरूमा जस्तै विद्रोह र सैन्य विद्रोहको प्रयास गरेको आरोप लगाउँदै उपहास गरेका थिए । नेतान्याहुले आफ्ना छोराको टिप्पणीलाई अस्वीकार गरेका छैनन् ।
पछिल्लो यो झडपले जनवरी २०२३ मा मन्त्रिपरिषद्ले शपथ लिएदेखि नै नेतान्याहुको सरकार र सैन्य तहबीच लामो समयदेखि तनाव रहँदै आएको र यो विवादले प्रायः सैन्य सल्लाहलाई बेवास्ता गरिने व्यापक ढाँचालाई प्रतिबिम्बित गर्ने बताइएको छ ।
नेतान्याहुका कट्टरपन्थी, अति–दक्षिणपन्थी सहयोगीहरूले गाजा र कब्जा गरिएको वेस्ट बैंकमा सेनाको नीतिलाई लिएर बारम्बार विवाद गर्ने गरेको बताइएको छ ।
करिब दुई वर्षको युद्धको दौरान, सरकार र सैन्य नेताहरूबीच बारम्बार तनाव भएको छ । नेतान्याहुले अक्टोबर ७, २०२३ का आक्रमणहरूका बेला भएका सुरक्षा कमजोरीहरूको जिम्मेवारी पन्छाउने बारम्बार प्रयास गरेका र यसका लागि सुरक्षा प्रमुखहरूलाई दोष लगाएका छन् ।
पछिल्लो नौ महिनामा नेतान्यहुले हमासले इजरायलमा आक्रमणको दिन कार्यालयमा रहेका रक्षामन्त्री, सैन्य प्रमुख र घरेलु सुरक्षा निकाय शिन बेटका प्रमुख सहित सबै प्रमुख सुरक्षा व्यक्तित्वहरूलाई प्रतिस्थापन गरेका छन् ।
यद्यपि, वर्तमान आईडीएफका प्रमुख, आफ्ना पूर्ववर्तीभन्दा फरक, नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जद्वारा सीधै नियुक्त भएका थिए । यसअघि प्रधानमन्त्रीका सैन्य सचिवको रूपमा सेवा गरेका जमिरको नियुक्तिलाई सुरुमा सरकारले स्वीकार गरेको थियो । तर उनी चाँडै नै युद्धको प्रगतिलाई लिएर अति–दक्षिणपन्थीको निराशाको निशाना बने ।
युद्ध विस्तार गर्ने पछिल्लो प्रयासमा जमिरको विरोधले तनावलाई थप बढाएको र यसले नेतान्याहुका केही सहयोगीहरूबाट सैन्य प्रमुखले आफ्नो नियुक्ति भएको आधा वर्षपछि नै राजीनामा दिनुपर्ने माग निम्त्याएको बताइएको छ ।
सयौं आईडीएफका रिजर्भेस्टहरूले सरकारको आदेश अस्वीकार गर्ने कसम खाए ।
इजरायली रिजर्भेस्टहरूको एक बढ्दो समूहले मंगलबार गाजा सहर कब्जा गर्ने इजरायलको योजनाबद्ध सैन्य कारबाहीका लागि बोलाइएमा सेवामा उपस्थित हुन अस्वीकार गर्ने घोषणा गरेका छन् । उनीहरूले इजरायली बन्धकहरूको सुरक्षा र युद्धको मानवीय क्षतिबारे गहिरो चिन्तालाई कारणको रूपमा उल्लेख गरेका छन् ।
ती रिजर्भेस्टहरूले तेल अभिभमा पत्रकार सम्मेलन गरेका छन् । समूहका प्रवक्ता योतम भिल्कले मंगलबार सीएनएनलाई बताएअनुसार, यस आन्दोलनका सदस्यहरूले नेतान्याहुले बन्धक वार्तालाई विघटन गरेको र गाजामा अझै पनि रहेका इजरायली बन्दीहरूको जीवन जोखिममा पारेको देखेर सुरु गरिएको बताए ।
उनीहरूले भने, “हामी सबैले सेवा गरेका छौँ, र हामीमध्ये कोहीकोही फेरि पनि सेवा गर्नेछौँ, तर हामी चलिरहेको युद्ध र वर्तमान अभियानको विरुद्धमा छौँ ।”
सैन्य अधिवक्ता जनरललाई लेखेको पत्रमा आईडीएफको उच्च कानुनी निकायलाई गाजा सहरमा योजनाबद्ध आक्रमण रोक्न आग्रह गरेको उल्लेख छ ।
“गाजा सहर कब्जा गर्ने आदेशले सबै कानुनी र नैतिक मापदण्डहरू नाघेको स्पष्ट छ । यो आदेश स्पष्टरूपमा गैरकानुनी छ र यसको पालना गरिनुहुँदैन । र, यसको पालना गर्ने सैनिकहरूले आपराधिक र व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ,” पत्रमा उल्लेख छ ।
सीएनएनबाट ।