site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले विधान महाधिवेशनमा ६ वटा समूहले प्रस्तुत गरे निष्कर्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनको तेस्रो दिन बन्दसत्रमा महाधिवेशनमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि समूहगत निष्कर्ष राख्ने काम भइरहेको छ । 

सातवटा प्रतिवेदनमाथिको समूहगत छलफल सकिएपछि आज ती समूहका नेताले प्रतिवेदनमाथिको निष्कर्ष राख्न सुरु गरेका हुन् । हालसम्म ६ वटा समूहले निष्कर्ष प्रस्तुत गरिसकेका छन् । 

कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका समूह नेताले प्रतिवेदनमाथि निष्कर्ष प्रस्तुत गर्नेछन् । 

उपत्यका विशेष प्रदेश, विभिन्न जनसंगठन, सम्पर्क समन्वय समिति र प्रवास तथा केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना र केन्द्रीय निकाय प्रतिनिधिले पनि प्रतिवेदनमाथि समूह नेताले निष्कर्ष दिनेछन् । 

समूह नेताले आआफ्नो समूहको प्रतिवेदनमाथि सुझाव दिइसकेपछि सोही सुझावका आधारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ । 

अध्यक्ष ओलीले समूहबाट आएका सुझावमा जवाफ दिएसकेपछि कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुंगो लगाई एकीकृत रूपमा पार्टी विधान पारित गरिनेछ । 

आज नै समसामयिक प्रस्ताव पारित गर्ने कार्यसूचीसमेत छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित शुक्रबारदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी दुई हजार ३४१ जनाको सहभागिता छ । महाधिवेशन आज सकिने कार्यतालिका छ । 

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  ११:२२
प्रतिक्रिया दिनुहोस्