काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानको मुख्य उद्देश्य जनताको समस्या बुझेर सिंहदरबारसम्म पुर्याउनु रहेको बताएका छन् ।
आइतबार (भदौ २२) लमजुङस्थित भक्ति नमुना माध्यमिक विद्यालयमा आयोजित संवाद कार्यक्रममा उनले ‘जनयुद्ध’ र ‘जनक्रान्ति’का सहिद तथा बेपत्ता परिवारसँग पार्टीको निरन्तर भेटघाट भइरहेको जानकारी गराए । उनीहरूका पीडा सम्बोधन गर्न पार्टी प्रयासरत रहेको प्रचण्डले बताए ।
उनले भने, “राम्रो काम गर्दै गर्दा हामीलाई सरकारबाट हटाइए पनि भ्रष्टाचार अन्त्य र सुशासनको अपेक्षा राख्ने जनताको मनबाट हामी हटेका छैनौँ ।”
माओवादी सरकारमा रहँदा सामाजिक न्याय, सुशासन र विदेशमा रहेका नागरिकलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्नेजस्ता काम गरेको उनले बताए ।
वर्षायामका कारण पोखरामा रोकिएको मध्यपहाडी लोकमार्ग अभियान पुनः थालिएको उनले स्पष्ट पारे । उनले भने, “हामीले बैतडीदेखि कास्कीसम्म अभियान चलाउँदा बर्खाका कारण स्थगित गर्नुपरेको थियो । अहिले फेरि यसलाई निरन्तरता दिएका छौँ ।”