site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जेनजीको आन्दोलन र मानवीय क्षति सम्बन्धमा संसारका मिडियाले के लेखे ?

काठमाडौं । नेपालमा फेसबुक, युट्युबलगायतका २६ सामाजिक सञ्जालहरू बन्द गराउने सरकारको निर्णयको विरोधमा जुटेको जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको छ भने लगभग पाँचसय जना घाइते भएका छन् । 

सोमबार काठमाडौंमा जेन–जीको आन्दोलनमा प्रहरी दमनका कारण कम्तिमा पनि १७ जनाको मृत्यु भएको थियो भने इटहरीमा दुई जनाको मृत्यु भएको थियो ।  

आन्दोलन सामाजिक संजाल बन्दलगायत देशमा व्याप्त भ्रष्टाचार, बेथितीको अन्त्यप्रति पुस्ताको विद्रोह भनिएको यो आन्दोलनमा युवाहरुले  निषेधित क्षेत्र उल्लंघन गरेपछि संसद् भवन तर्फ हिँडेका युवाहरुलाई अश्रू ग्यास पानीको फोहोरा र गोली प्रहर गरेको थियो । 

घटनापछि सरकारले काठमाडौंका संवेदनशील स्थानहरुमा कफर््यु लगाएको थियो भने  आजबिहना ७ बजेदेखि दिउँसो १२ बजेसम्म पनि कर्फ्यु  घोषणा गरेको छ ।

यसैबीच उक्त घटनापछि पार्टी भित्र तथा बाहिरबाट व्यापक दवावआएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा  दिएका छन् ।

यो बिषमा नेपालमा मात्र नभए अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पनि व्यापक रुपमा समाचार सम्प्रेषण गरेका छन् । समाचार संस्था रोयटर्सले ‘सामाजिक सञ्जालमा प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको जेन जीको प्रदर्शनमा नेपालमा १९ जनाको मृत्यु’ भन्ने शीर्षकमा समाचार सम्प्रेषण गरेको छ ।

सरकारले गत हप्ता मेटा प्लेटफम्र्सको फेसबुकलगायत धेरै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि युवाहरूमा आक्रोश बढेको र युवा प्रदर्शनकाहरूले काठमाडौँको संसद भवन छिर्ने प्रयास गर्दा उक्त घटना भएको भन्दै त्यस अघि ब्यारिकेड तोडेर भित्र पस्ने प्रयास गरेको यस क्रममा उनीहरूले एउटा एम्बुलेन्समा आगो लगाइदिए र दङ्गा नियन्त्रण गर्ने प्रहरीमाथि वस्तुहरू प्रहार गरेको उल्लेख गरेको छ ।

यस्तै शीर्षकमा अलजजिरले विद्यालय तथा कलेजको पोशाकमा रहेका विद्यार्थीसहित हजारौं युवाहरू काठमाडौँको सडकमा प्रदर्शनमा उत्रिएका र उनीहरूले सामाजिक सञ्जाल होइन, भ्रष्टाचार बन्द गर, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाऊ र भ्रष्टाचारविरुद्ध युवा जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर  प्रदर्शनमा आएको उल्लेख गरेको छ ।

बीबीसीले पनि यो घटनाको समाचार प्रकाशन गरेको छ । बीबीसीले घटनामा १९ जनाको मृत्यु र सयौैं घाइते भएको उल्लेख गर्दै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सरकारी निर्णय र सरकारप्रति व्यापक असन्तुष्टिको विरोधमा ‘जेन जी’ ले गरेको आह्वानमा हजारौं मानिसहरू काठमाडौँको संसद भवनअगाडि भेला भएको बताएको छ । यस प्रदर्शनमा फेसबुक, एक्स र युट्युबलगायतका सामाजिक सञ्जालहरूमाथि लगाइएको प्रतिबन्धको विरोध गरिएको उल्लेख छ । 

बीबीसीले प्रदर्शनकारीहरूले भ्रष्टाचारको अन्त्य गर्न सरकारको अधिनायकवादी व्यवहारको विरोधमा उत्रेको बताएको छ । 

नेपालमा धेरै मानिसहरू भ्रष्टाचार व्यापक रहेको र सरकारले देशको लामो समयदेखिको आर्थिक समस्या समाधान गर्ने वाचा पूरा गर्न नसकेको भन्दै आलोचना पनि खेपिरहेको पनि समाचारमा उल्लेख छ ।

द गार्जियन न्युजले सोमबार, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले समाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध भ्रष्टाचार र अधिनायकवादको आरोपको विरोधमा हजारौं युवाहरू राजधानी काठमाडौँ र देशका अन्य साना सहरहरूमा प्रदर्शनमा उत्रेका र सडकमा आक्रोश पोखिएको र सो घटनामा युवाहरुको मृत्यु भएको बताइएको छ।

काठमाडौँमा प्रदर्शनकारीहरूले अवरोध तोड्ने र संसद भवनमा प्रवेश गर्ने प्रयास गर्दा तथा गेटमा आगो लगाइदिएपछि प्रहरीसँग झडप भएको पनि उल्लेख गरेको छ ।

द वाशिङटन पोष्टले नेपालमा जेन जीहरुको प्रदर्शनमा कम्तीमा १९ जनाको मृत्यु, सयौं घाइते भन्ने शीर्षकको समाचारमा  देशभर सामाजिक सञ्जाल  बन्द भएपछि हिंसात्मक विरोध प्रदर्शन सुरु भएको उल्लेख गरेको छ ।

सर्वोच्च अदालतको निर्देशनअनुसार सरकारले ती प्ल्याटफर्महरूलाई दर्ता गर्न स्थानीय प्रतिनिधि नियुक्त गर्न निर्देशन दिएको उल्लेख गर्दै तर दर्ता हुन नआएपछि त्यसलाई अवरुद्ध गरेको उल्लेख गरेको छ ।

‘जेनेरेशन जी–प्रदर्शन’ भनिएको आन्दोलनमा युवा वर्गको व्यापक सहभागिता थियो, जसले भ्रष्टाचार, परिवारवाद र सरकारको दमनकारी नीति प्रति विरोध गरिएको उल्लेख गरेको छ ।

सुरक्षाकर्मीहरूले गोली, रबरको गोली, आँसु ग्याँस प्रयोग गरेका र घटनापछि गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको उल्लेख छ ।

यसैगरी योसँग सम्बन्धित समाचार दि न्युयोर्क टाइम्सले पनि सम्प्रेषण गरेको छ । यसै गरी एशोसिएटेड प्रेसले  व्यापक विरोध र मानवीय क्षति पश्चात नेपाल सरकारले सामाजिक सञ्जाल प्रतिबन्धको निर्णय फिर्ता लिएको उल्लेख गरेको छ ।

भारतको हिन्दुतान टाइम्सले नेपालको सामाजिक संजाल प्रतिबन्ध, हिजोको घटना, युवाहरुको आन्दोलन, नेपो किड्स अभियान, सामाजिक संजाल दर्ता लगायतका बिषयमा बिस्तृत समाचार लेखेको छ ।

यसै गरी दि इन्डियन एक्सप्रेसले पनि यो आन्दोलनको समाचार अपडेट गरेको छ । यस बाहेक भारतको टाइम्स अफ इन्डिया, एनडीभी, इन्डिया टुडे, नभभारत टाइम्स, द हिन्दु लगायतका  संचारमाध्यमहरुले एकै खाले समाचार बनाएका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ०९:५०
प्रतिक्रिया दिनुहोस्