काठमाडौं । नेपालमा ‘जेनजी’को प्रदर्शनलाई नजिकबाट नियालिरहेको भारतले जनाएको छ ।
भारतको विदेश मन्त्रालयले मंगलबार (भदौ २४) एक विज्ञप्ति जारी गरी प्रदर्शनका क्रममा धेरै युवाको मृत्यु भएकामा दुःख व्यक्त गरेको छ । “हामी हिजोदेखि नेपालमा भएका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेका छौँ र धेरै युवाको ज्यान गएकोमा दुःखी छौँ,” भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विदेश मन्त्रालयले प्रदर्शनका क्रममा घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । “नजिकको मित्र र छिमेकीको रूपमा हामी आशा गर्छौं कि सम्बन्धित सबैले संयम अपनाउनेछन् र शान्तिपूर्ण माध्यम र संवादमार्फत समस्यालाई सम्बोधन गर्नेछन्,” भारतले भनेको छ ।
विदेश मन्त्रालयले काठमाडौं र नेपालका अरू धेरै सहरमा कर्फ्यु लगाइएको हुँदा यहाँ रहेका भारतीय नागरिकलाई सावधानी अपनाउन पनि आग्रह गरेको छ ।