site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारत र चीनमाथि १०० प्रतिशतसम्म ‘ट्यारिफ’ लगाउन ईयूलाई ट्रम्पको आग्रह

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (ईयू)लाई चीन र भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ (भन्सार शुल्क) लगाउन आग्रह गरेका छन् ।

ट्रम्प र ईयूबीचको यो कुराकानीबारे जानकार एक स्रोतले बीबीसीलाई दिएको जानकारी अनुसार, ट्रम्पले यस्तो आग्रह रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध समाप्त गर्न बाध्य पार्ने आफ्नो प्रयासअन्तर्गत गरेका हुन् ।

रुसमाथि आर्थिक दबाब बढाउने विकल्पबारे मंगलबार अमेरिका र ईयूका अधिकारीबीच भएको कुराकानीका क्रममा ट्रम्पले यस्तो आग्रह गरेका थिए । ट्रम्पले रुस–युक्रेनबीच शान्ति सम्झौता गराउन संघर्ष गरिरहेका छन् । अर्कोतर्फ, रुसले युक्रेनमाथि आक्रमण तीव्र पारेका बेला यस्तो प्रस्ताव गरिएको हो ।

ट्रम्पको यो प्रस्तावअघि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका आर्थिक दबाब बढाउन तयार रहेको तर त्यसनिम्ति बलियो युरोपेली समर्थन आवश्यक रहेको बताएका थिए ।

ट्रम्पले मंगलबार पत्रकारलाई यो वा अर्को हप्ताको सुरुमा पुटिनसँग फोनमा कुरा गर्ने योजना बनाएको बताएका थिए ।

उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै भारत र अमेरिका व्यापारिक अवरोध हटाउनका निम्ति कुराकानी गरिरहेको र आउँदा हप्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने योजना रहेको पनि उनले बताएका थिए ।

उक्त पोस्टको जवाफमा मोदीले भारत र अमेरिका गहिरो मित्र र स्वाभाविक साझेदार भएको बताएका छन् । व्यापारसम्बन्धी कुराकानीले भारत–अमेरिकाबीचको साझेदारीको अपार सम्भावनालाई अगाडि बढाउने बाटो देखाउने उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्