काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैको साझा लक्ष्य स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्नु भएकामा जोड दिएको छ । बुधबार (भदौ २५) एक अपिल जारी गर्दै पार्टीले जनतामाझ आशाको सञ्चार गर्न नसकिए नयाँ नेपाल निर्माण फेरि आकांक्षामै सीमित हुने जनाएको छ ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको अपिलमा नयाँ राजनीतिक ‘कोर्ष’बारे रास्वपाको धारणा छिट्टै सार्वजनिक गरिने उल्लेख छ । “तर, नयाँ परिस्थितिमा पनि मुलुक विधिको शासन, कानुनी सर्वोच्चता, मानवअधिकार, आवधिक निर्वाचन, अभिव्यक्ति स्वतन्त्रताजस्ता लोकतन्त्रका आधारभूत मूल्य–मान्यता एवं राजनीतिक सहअस्तित्वकै आधारमा अगाडि बढाउनुपर्छ भन्नेमा रास्वपा दृढ छ,” अपिलमा भनिएको छ ।
अबको राजनीतिक प्रक्रियालाई शान्तिपूर्ण, रचनात्मक, सहभागितामूलक र पारदर्शी बनाउन नसकिए परिवर्तनको चाहना दिगो रूपमा संस्थागत हुन नसक्ने पार्टीले जनाएको छ । “यसतर्फ सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै आन्दोलनको क्रममा उत्पन्न भएको जटिल परिस्थितिलाई सामान्यकृत बनाउन सुरक्षा निकायबाट थालिएको प्रयासमा धैर्यपूर्वक साथ दिँदै नागरिक सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण र कानुनी व्यवस्था पुनर्बहाली, सामाजिक सद्भाव वृद्धिका लागि आमजनसमुदायको सकारात्मक योगदान हुनेमा विश्वस्त छौँ,” अपिलमा उल्लेख छ ।
आन्दोलनका क्रममा युवापुस्ताले व्यक्त गरेको चाहनालाई राजनीतिक रूपमा सम्बोधन गर्ने/गराउने वातावरण निर्माणमा पार्टी सचेत रहेको रास्वपाले जनाएको छ ।
“राजनीतिक कोर्षलाई सही दिशामा अगाडि बढाउन, शान्ति–सुव्यवस्था कायम राख्न र सामाजिक सद्भाव अभिवृद्धिमा जनस्तरबाट निरन्तर खबरदारी र पहलकदमीका लागि पनि हार्दिक अपिल गर्दछौँ,” अपिलमा भनिएको छ ।
