site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसद थापाले खोजे राष्ट्रपति– राष्ट्रका नाममा सम्बोधन गर्नुहोस्
सूर्य थापा । फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्य थापाले राष्ट्रपति रामचन्द्र पौडेलको खोजी गरेका छन् । बिहीबार (भदौ २७) एक वक्तव्य जारी गर्दै उनले राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गरी नागरिकलाई आश्वस्त तुल्याउन आग्र्रह गरेका छन् ।

“राष्ट्रपति महोदय, कहाँ हुनुहुन्छ ? अविलम्ब राष्ट्रको नाममा सम्बोधन गरेर आमनागरिकलाई आश्वस्त र विश्वस्त बनाउनुहोस् !,” उनले भनेका छन् ।

संसद् विघटन गर्न विभिन्न शक्ति लागिपरेको उनको बुझाइ छ । राष्ट्रपतिलाई संविधानविपरीत हुने काम नगर्न उनले आग्रह गरेका छन् ।

“सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू, संविधानविपरीतको काम र क्रियाकलापमा सहभागी वा सहमत हुनुभएको छैन र हुनुहुने पनि छैन भन्ने विश्वासमा छौँ । सम्माननीय राष्ट्रपतिलाई यस्तो काम गर्नमा कुनै अवाञ्छित प्रयास कहीँ कतैबाट नहोस्,” वक्तव्यमा भनिएको छ ।

सभामुख देवराज घिमिरेलाई जनमत र जनताको सार्वभौमसत्ताको अभ्यास हुने प्रतिनिधिसभाको रक्षा र उचित भूमिका निर्वाहका निम्ति पनि उनले अनुरोध गरेका छन् ।

“सरकार बनाउने संसद्ले हो । यो मूल बाटो छाडेर वा बिराएर अथवा भत्काएर देशलाई सही रूपमा अघि बढाउन सम्भव हुने छैन,” उनले भनेका छन्, “इतिहासमा कलंकको टीका लगाउने गल्ती कसैबाट नहोस् । यति कुरामा हरेक लोकतन्त्र पक्षधरले ध्यान दिनुपर्छ ।” 
 

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्