site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पुनः चुनाव लड्ने बाइडेनको निर्णय अहंकारपूर्ण : कमला ह्यारिस

काठमाडौं । अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले पूर्वराष्ट्रपति जो बाइडेनबारे टिप्पणी गरेकी छन् । उनले बाइडेनको आलोचना गरेकी हुन् ।

सन् २०२४ मा दोस्रो कार्यकालका निम्ति अमेरिकी राष्ट्रपतिको चुनाव लड्ने बाइडेनको निर्णय अहंकारपूर्ण र गलत भएको उनले उल्लेख गरेकी छन् । दोस्रो कार्यकालमा जाने बाइडेनको निर्णय कर्तव्यभन्दा पनि व्यक्तिगत अहंकार र महत्त्वाकांक्षाले प्रेरित रहेको उनको भनाइ छ ।

एक संस्मरणमा ह्यारिसले भनेकी छन्, “जो र जिलको निर्णय हो भनेर हामी सबैले यसलाई मन्त्रजस्तै मान्यौँ । तर, पछि फर्केर हेर्दा मलाई यो लापरबाही थियो जस्तो लाग्छ । यो केवल व्यक्तिगत निर्णयभन्दा धेरै हुनुपर्ने थियो ।”

२०२४ को चुनावमा बाइडेनले स्वास्थ्यका कारण उमेदवारी छाडेका थिए । त्यसपछि ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उमेदवार बनेकी थिइन् । उनले १०७ दिनसम्म चुनावी अभियान चलाएकी थिइन् । आफ्नो किताब ‘१०७ डेज’मा उनले बाइडेनलाई पुनः चुनाव नलड्नुस् भन्न नसकेको उल्लेख गरेकी छन् ।

ह्वाइट हाउसका सबै मानिसमध्ये बाइडेनलाई चुनावबाट हटाउनुपर्ने तर्क गर्न आफू सबैभन्दा कमजोर स्थितिमा रहेको उनले जनाएकी छन् । “मलाई थाहा थियो, यदि मैले उनलाई चुनाव नलड्न सल्लाह दिएँ भने यो उनका निम्ति अत्यन्तै स्वार्थी कदम हुने थियो,” ह्यारिसले लेखेकी छन् ।

ह्यारिसले थप खुलासा गर्दै चुनावको समयमा बाइडेनका कर्मचारीले आफूलाई समर्थन नगरेको बताएकी छन्, “उनीहरूको सोच जिरो–सम थियो । म चम्किएँ भने उनीहरू कमजोर हुने ठानेका थिए,” उनले भनेकी छन् ।

उनले बाइडेनलाई लामो अनुभव र गहिरो विश्वास भएको एक चतुर व्यक्ति भनेकी छन् । बाइडेन राष्ट्रपतिका कर्तव्य पूरा गर्न सक्षम रहेको पनि उनले उल्लेख गरेकी छन् । बीबीसीबाट ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १३:१२
प्रतिक्रिया दिनुहोस्