बुटवल । ‘जेनजी’ समूहको प्रदर्शनका क्रममा १९ जनाको ज्यान जाने गरी सरकारले दमन गरेको घटनापछि नेकपा (एमाले)का नेताहरूले धमाधम पार्टी परित्यागको घोषणा गरेका छन् ।
रुपन्देहीमा नेकपा (एमाले)का जिल्ला सचिव एवं सैनामैना नगरपालिकाका पूर्वमेयर चित्रबहादुर कार्की, एमालेबाट निर्वाचित देवदह नगरपालिकाका मेयर ध्रुव खरेल, एमालेबाटै निर्वाचितहरू देवदहका उपमेयर विद्यालक्ष्मी गुरुङ, सैनामैनाकी उपमेयर बीना रानालगायत जिल्लाका नेताले पार्टी छाडेको घोषणा गरेका छन् ।
एमाले परित्यागको घोषणासँगै जिल्ला सचिव कार्कीले शक्तिशाली नागरिक सरकार गठन, ‘जेनजी’का माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
एमालेनिकट राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेशका निलम्बित अध्यक्ष सुरज खरेलले पार्टीको सदस्यता त्यागेको घोषणा गरेका छन् । सामाथिक सञ्जालमार्फत उनले निर्दोष नागरिकको रगत बगाउने, जनताको पीडामाथि राजनीति गर्ने र आवाजलाई दमन गर्ने प्रवृत्तिका कारण एमालेमा बस्नु नैतिक र मानवीय दृष्टिले अस्वीकार्य भएको बताएका छन् ।
खरेलले पछिल्लो समय विद्यादेवी भण्डारीको नेतृत्वमा एमाले हुनुपर्छ भन्ने बहस चलाएका थिए । युवा संघभित्रको बेथितिका बारेमा उनले सार्वजनिक रूपमा बोल्दै आएका थिए ।
उनी देवदहका मेयर खरेलका छोरा हुन् । हालै मात्र युवा संघले संगठनविरोधी कार्य गरेको आरोपमा उनलाई निलम्बन गरेको थियो ।
यस्तै, एमाले नेता उपेन्द्र अधिकारीले पनि पार्टी परित्यागको घोषणा गरेका छन् । रुपन्देही क्षेत्र नम्बर–५ क्षेत्रीय कमिटी सदस्य अधिकारीले युवा विद्यार्थीमाथिको सरकारी दमनबाट आजित भएर दल त्याग गरेको घोषणा गरेका हुन् ।
गत आमनिर्वाचनमा रुपन्देही–५ मा एमाले उमेदवार वासुदेव घिमिरेलाई जिताउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनी ‘मोटिभेसनल’ वक्ता समेत हुन् ।
“अहिलेसम्म केही नबोली सहेर बसेकामा विशेष गरी जेनजी पुस्ताका भाइबहिनीहरूसँग माफी माग्न चाहन्छु,” उनले भनेका छन् ।
एमालेनिकट राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवं जिल्ला कमिटी सदस्य श्रद्धा कुँवरले पनि पार्टी परित्यागको घोषणा गरेकी छन् ।
युवा संघ तिलोत्तमा–८ का अध्यक्ष एवं संघको साइबर सर्कल विभागका जिल्ला सदस्य कमल अर्यालले पनि एमाले परित्यागको घोषणा गरेका छन् । ‘जेनजी’को प्रदर्शनमा निर्दोष र निःशस्त्र युवा, विद्यार्थीलाई गोली हानेर हत्या गरेको घटनाले पार्टीप्रतिको आशा र विश्वास टुटेर एमाले छाडेको अर्यालले बताए ।
नेपाल विद्यार्थी संघ कपिलवस्तुका उपसभापति सञ्जय खनालले पनि पदबाट राजीनामा दिएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीमाथिको निर्मम गोली प्रहारमा पनि मौन बस्ने संगठन र त्यसको नेतृत्वप्रति असन्तोष व्यक्त गरेका छन् ।
उनले भनेका छन्, “विद्यार्थीमाथि निर्मम गोली प्रहार भई ज्यान जाँदा समेत मौन बस्ने विद्यार्थी संघ र त्यसको नेतृत्व अब अस्तित्वमा रहनुपर्ने कुनै औचित्य छैन । यस्तो संगठन विघटन हुनु नै उपयुक्त हुन्छ ।”
